श्रमजीवी जनताको मुक्तिको लागि नेकपा जस्तोसुकै कदम उठाउन तयार

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले श्रमजीवी जनताको मुक्तिको लागि नेपाल कम्युनिष्ट पार्टीले जस्तो सुकै कदम उठाउन तयार भएको बताएका छन । नेकपा कालिकोटको विहिबाटबाट सुरु भएको संयुक्त बैठकलाई शुक्रवार सम्वोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो कुरा बताएका हुन । उनले श्रमजीवी जनता अहिले पनि दलाल संसदीय व्यवस्थाको उत्पीडनमा परेको बताउदै दलाल संसदीय व्यवस्था परिवर्तनका लागि नेकपाले जस्तो सुकै कदम उठाउन तयार हुने उद्घोष गर्दै भने- “श्रमजीवी जनताको मुक्ति,हकहित र जनताको विजयीका लागि नेकपा जुनसुकै कदम उठाउन तयार छ । माक्र्सवाद कहिले हार्दैन र अहिलेसम्म हारेको छैन । माक्र्सवाद जहिले पनि गतिशीलतामा अगाडि बढिरहन्छ । नेपालमा ९८ प्रतिशत श्रमजीवी जनताले परिवर्तन चाहेका छन । ९८ प्रतिशत श्रमिक जनताको व्यवस्था ल्याउने एजेन्डा नेकपासंग छ ।”
प्रवक्ता प्रकाण्ड सी ले अहिलेको दलाल पूँजीवादी व्यवस्थाका कारण नेपाल राष्ट्र नै गम्भीर संकटमा परेको देश,जनता र नेपालका राजनीति पार्टी पनि नरहे अवस्था आएको बताए । उनले सच्चा कम्युनिष्टहरुले आफु माथिको अन्याय अत्याचार सहेर बस्न नसक्ने भन्दै नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई समाजवादी व्यवस्थामा पुग्न एक हुन अपिल गरे । उनले नेपालमा नक्कली कम्युनिष्टहरुको संख्या बढेके खुलासा गर्दै नक्कली कम्युनिष्टहरु बाघबाट भेडा भएको जिकिर गरे ।
प्रवक्ता प्रकाण्ड सीले नेपालमा सबै दलालहरुको अन्त्य नेकपाबाट मात्र सम्भव भएको भन्दै दलालहरु परिवर्तनका विरुद्ध लागेको बताए ।
नेपालमा नेकपाले क्रान्तिको नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले भने “रुसमा स्टालिन र चीनमा माओको निधन लगत्तै प्रतिक्रान्ति भयो । तर नेपालमा नेतृत्व छदै प्रतिक्रान्ति भयो । प्रतिक्रान्तिसंगै नेकपाले क्रान्तिको नेतृत्व पनि गर्यो । यो गौरबको विषय हो ।”


प्रवक्ता प्रकाण्ड सीले क्रान्तिलाई कहिलै हार्ने छुट नभएको भन्दै माओले जटिल समयमा पनि आत्मसमर्पण नगरेको बताए । उनले नेपालमा क्रान्तिकारीहरुलाई दिल्ली सम्झौताबाट आत्मसमर्पण गर्न लगाएको र पटक पटक कम्युनिष्टहरुले प्रतिगामीहरुका सामु आत्मसमर्पण गरेको ठोकुवा गरे ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विराट सी,विवेक सी र बलवान सीले सम्वोधन गर्दै नेपालमा क्रान्तिको नेतृत्व गर्ने पार्टी नेकपा मात्र भएको चर्चा गर्दै पार्टी योजनामा सक्रियतापूर्वक हाम फालेर काम गर्न बैठकमा सहभागीहरुलाई निर्देशन दिएका थिए ।
जनसेवकका ब्यूरो इन्चार्ज अर्जुन सीले कम्युनिस्टको सबैभन्दा ठुलो दुश्मन दलाल पूँजीवाद भएको बताए । बैठकको अध्यक्षता कालिकोट जिल्ला इन्चार्ज बलवान सीले गरेका थिए । – पृथ्वी लोहार

प्रतिक्रियाहरु

[anycomment]