‘नेपाल युद्धको रणमैदान बन्ने सम्भावना’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाल युद्धको रणमैदान बन्ने सम्भावना रहेको बताएका छन। नेकपा पश्चिम कपिलबस्तुले शुक्रवार चन्द्रौटामा आयोजना गरेको “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन ।
महासचिव विप्लव सीले अमेरिकाका लागि सैन्य दृष्टिकोणले नेपाली भूमी ठिक भएपनि नेपाली जनताको लागि कुनै पनि हिसावले ठिक नहुने बताउदै भने – “नेपालको जमिन अमेरिकालाई सैन्य दृष्टिकोणले ठिक हो । अमेरिकी स्वार्थको लागि ठिक हो । तर नेपाल र नेपाली जनताका लागि ठिक होइन । अमेरिकी स्वार्थको लागि नेपाली भूमी प्रयोग हुन दिनु हुदैन ।”
महासचिव विप्लव सीले अमेरिका एमसीसी मार्फत हस्तक्षेप बढे पछि चीनले पनि आफ्नो हस्तक्षेप बढाएको बताए । उनले पोखरा विमानस्थल देखि नेपालका केही महत्वपूर्ण चीनले सहयोग गरी बनेका आयोजनाहरु विआरआईका हुन भनेर भन्न थालेको बताए । उनले यो स्थितिले नेपाल युद्धको रणमैदान बन्ने सम्भावना भएको भन्दै कुनै पार्टी नभनि सबै नेपाली भएर देशको रक्षाको लागि सोच्नुपर्ने बताए । उनले नेपालमा असफल संसदीय व्यवस्थाले जनताको निकास दिन नसक्ने आफ्नो पार्टीले पहिले नै भनिरहेको भएपनि अहिले आएर पुष्टि भएको दाबी गरे ।
महासचिव विप्लव सीले देशमा व्यवस्था सम्वन्धि ३ वटा दृष्टिकोणको बारे वहस भएपनि समाजवादी दृष्टिकोण नै अहिलेको संकटको निकास हुने ठोकुवा गर्दै भने- “एउटा राजा सहितको २०४७ सालको संविधान व्यूझाउने छ । अर्को व्यवस्था ठिक पार्टी र नेता बदल्नु पर्छ भनेर रवीले भन्ने कुरा छ र अर्को राजनीतिक स्थिरताका लागि समाजवादी व्यवस्थामा जानुपर्ने भन्ने दृष्टिकोण हाम्रो छ । तर पछाडि फर्केर हुदैन । अगाडि बढनुपर्छ ।”
महासचिव विप्लव सीले अहिलेको दलाल संसदीय व्यवस्थामा चाहेर पनि जनताको सेवा दिन नसक्ने अवस्था रहेको बताए । उनले ऐन र कानुन पुराना भएको र जनताको सेवामुखी नभएकाले जनताले सेवा पाउन नसकेको जिकीर गरे ।
महासचिव विप्लव सीले समाजवादी व्यवस्था र समाजवादी ऐन र कानुन नबनाए सम्म नेपाली जनताको अवस्था परिवर्तन नहुने ठोकुवा गर्दै भने- “सरकारकै मान्छेहरु कानुनले अफ्ठेरो भयो भन्छन । पुराना कानुन छन भन्छन । म झापा देखि बझाङ,जाजरकोट,रुकुम लगायका जिल्ला पुगे । जता पनि व्यवस्थाबाट असन्तुष्टि छ । कानुनले अफ्ठेरो पर्यो भनिन्छ ।”
महासचिव विप्लव सीले जनताको सेवा गर्ने कानुन नबनाए सम्म जनताको अवस्था परिवर्तन र जनसेवा नहुने समेत बताए ।
यसैगरी, सोही कार्यक्रममा बोल्दै नेकपा मसालका कपिलवस्तु सचिव हेमलाल पाण्डेले दलाल पूँजीवादी व्यवस्थाबाट कसैको समस्या समाधान नहुने बताए । उनले भने “यो दलाल पूँजीवादी व्यवस्था हो । यसले किसान,उद्योगी,व्यापारी,व्यवसायी कसैको उत्थान गर्दैन ।”
नेता पाण्डेले दलाल व्यस्थाको चरित्र नै समाजमा शोषण गर्नु भएको बताए । उनले यो व्यवस्थामा रहेर समाजवाद नआउने बताउदै समाजवादका लागि माओवादीधारहरु मात्र नभएर सबै कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए ।
यसैगरी, सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका कपिलवस्तुका इन्चार्ज विष्णु बेलवासेले माओवादी धारका सबै नेताहरुले समिक्षा गर्ने बेला आएको बताए । उनले भने “हामी समक्षिा गर्नु पर्छ, ६० प्रतिशत कमजोरी गरेका छौ । आशा लाग्दो निस्कलंकित नेता विप्लव छन । माओवादी सबैले समिक्षा गरेर कमजोरी सच्याउदै एकताबद्ध हुनपर्छ ।”
बेलवासेले माओवादी नेताहरुले समिक्षा गरेमा देशको समस्याको समाधान निस्किने विश्वास पनि व्यक्त गरे । उनले समाजवादी आन्दोलनको तयारी गर्न माओवादी एक हुनैपर्ने तर्क गर्दै माओवादी विभाजनले दिनप्रतिदिन कमजोर हुदै गएको बताए ।