नेकपा एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको छ। सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।
माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको ख तिवडाले बताउदै भने- ‘राष्ट्रिय सम्मेलनमा कतिपय विधानको व्यवस्थाबारे पनि छलफल गर्नुपर्ने भएको छ, यसका लागि पनि कार्यदल बनाएका छौं। ’
कार्यदलमा उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला छन् । व्यवस्थापनका लागि अर्को समिति बनेको छ ।
राष्ट्रिय सम्मेलनभन्दा अगाडि मंसिर २८ २९ सचिवालय, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । प्रचार विभाग प्रमुख खतिवडाका अनुसार केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुनेछ । यसका लागि आफ्नो तयारी गर्न तल्लो कमिटीहरुलाई बाटो खुलेको छ ।