गोलमेच सम्मेलनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०७१ जेष्ठ ५ गते, सोमबार


काठमाडौं, ५ जेठ। नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गोलमेच सम्मेलनको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएको छ ।
माओवादी सचिव देव गुरुङको नेतृत्वमा गएका ३३ दलीय मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा राजनीतिक निकासका लागि गोलमेच सम्मेलन गर्नु पर्नेमा जोड दिइएको छ । साथै आन्दोलनका क्रममा ताप्लेजुङमा पक्राउ परेका ६ जना कार्यकर्ताको मुद्दा फिर्ता लिएर रिहा गर्न माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले आवश्यक परे गोलमेच सम्मेलन गर्न सक्दै भन्दै वार्ता र सम्वादमा आउन आग्रह गरेका छन् । उनले राजनीतिक संयन्त्र बनाएर जाने प्रस्ताव राखेका छन् ।तर, ३३ दलीय मोर्चाका नेताहरुले भने गोलमेच सम्मेलनबाटै निकास खोज्नु पर्नेमा जोड दिएका छन् । भेटमा ३३ दलीय मोर्चाको कार्यदलमा रहेका देव गुरुङ, समाजिक लोकतान्त्रिक पार्टीका पासाङ शेर्पा, संघीय लिम्बुवान राज्य परिषद् डिबी आङबुहाङसहितका नेता थिए ।
यसैबिच, संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले संविधान निर्माण प्रक्रियामा असहमति राख्दै आएका दल तथा समूहलाई पुनः वार्तामा आउन आहृवान गर्न सरकारलाई आग्रह गरेको छ ।
समितिको सोमबार बसेको बैठकले अनौपचारिक वार्तालाई कायम नै राखेर सरकारका तर्फबाट आग्रह गर्ने निर्णय गरेको हो । यस्तो आहृवानबाट संविधान निर्माण प्रक्रियामा सहभागी हुन चाहने तर विभिन्न कारणले गर्दा समितिमा आएर कुरा राख्न अनिच्छुक रहेका पक्षलाई सहमतिमा ल्याउन सहयोग पुग्ने समितिको निष्कर्ष छ ।
बैठकले राजनीतिक दल र विभिन्न समूहसँग विगतमा भएका सहमति के कति कार्यान्वयन भए/भएन त्यसको किटान गरेर जानकारी उपलब्ध गराउन सरकारलाई निर्देश गर्ने निर्णय गरेको छ ।
संविधानसभाभित्र र बाहिर रहेको राजनीतिक दल र समूहसँगको पहिचान तथा वार्ता प्रक्रिया र विधि तयार गर्न समितिको सदस्य पूर्णबहादुर खड्का संयोजक रहेको उपसमिति गठन गरेको छ । समितिले यही जेठ १५ गतेसम्ममा त्यस्ता राजनीतिक दल, समूहको पहिचान गरी वार्ता प्रक्रिया र कार्यविधिका बारेमा समितिलाई सुझाव दिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार