अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन

२०८० पुष १८ गते, बुधबार

काठमाडौँ । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वडा नम्बर ५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । गाउँ कार्यपालिकाको मंगलबारको बैठकले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको भन्दै निर्माणाधीन संरचना भत्काएर फेरि काम गर्न निर्देशन दिएको हो ।
निर्माणाधीन अस्पताल भवनका लागि जग सम्याएर पिल्लर ठड्याउने क्रममा गुणस्तरहीन काम भएको स्थानीयले गुनासो गरेपछि अनुगमन गरिएको र गुणस्तरहीन काम भएको निष्कर्षसहित संरचना भत्काउन निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राईले जानकारी दिइन् । “करिब दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको हालै पिल्लर ठड्याउने काम हुँदै थियो । ठेकेदारको लापरबाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ । गाउँपालिकाको कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ,” अध्यक्ष राईले भनिन्, “गाउँपालिकाको निर्देशनलगत्तै कम्पनीले निर्माण सम्पन्न भएका संरचना भत्काउन थालेको छ । गुणस्तरमा लापरबाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ ।”
निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन विसं २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी विसं २०७८ असार २५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाएको छ । अस्पताल भवन निर्माणका लागि कूल रु २० करोड ७१ हजार पाँच सय ९० मा सम्झौता भएको थियो ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु