एमाओवादी केन्द्रिय पदाधिकारीहरुको निर्वाचन भट्टराईद्वारा वहिष्कार
काठमाडौं, ११ जेष्ठ । एमाओवादी केन्द्रिय पदाधिकारीहरुको निर्वाचन नेता डाक्टर बाबुराम भट्टराई पक्षले वहिष्कार गर्ने भएको छ ।एकीकृत माओवादीको केन्द्रीय पदाधिकारीहरु चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनको नेता डाक्टर बाबुराम भट्टराई पक्षले बहिष्कार गर्ने भएका छन् । आज मध्यान्ह १२ बजे नौ सदस्यीय केन्द्ीय पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिका लागि मतदान हुने भएको हो ।
पार्टी मुख्यालय पेरिशडाडामा हिजो बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचनका लागि कार्यविधि पारित गरेको हो । आजको निर्वाचनले एमाओवादीको १ सय ५१ सदस्यीय केन्द्रीय समितिले ९ सदस्यीय पदाधिकारी, १७ सदस्यीय स्थायी समिति र ५१ सदस्यीय पोलिट्ब्युरो निर्वाचित गर्नेछ ।
निर्वाचनका लागि एनके प्रसाईको संयोजकत्वमा रामनाथ मैनाली र रामनारायण बिडारी सदस्य रहेको निर्वाचन कमिटी समेत बनाईएको छ । बाबुराम भट्टराई पक्षका १३ केन्द्रीय सदस्यले निर्वाचन प्रक्रिया नमिलेको भन्दै उममेदवार पनि नबन्ने र निर्वाचनमा भाग पनि नलिने भन्दै बैठकमा नोट अफ डिसेन्ट लेखेका छन् ।केन्द्रीय समिति गठनमै आफुहरुको असहमति रहेकोले पदाधिकारीहरुको निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरिएको भट्टराईपक्षीय नेता गंगा श्रेष्ठले बताए । यसैवीच एकीकृत माओवादीले उपनिर्वाचनका लागि काठमान्डौ क्षेत्र नं २ मा लिलामणी पोख्रेल, चितवन ४ मा खुशीराम पाख्रिन, बर्दिया १ मा भुवन चौधरी र कैलाली ६ मा रामसमज रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।