आयल निगमका निर्देशकसहित नौ अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं ,१४ जेठ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निर्देशक नागेन्द्र साहसहित नौ उच्च अधिकारीलार्इ नियन्त्रणमा लिएको छ ।निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्याल, निर्देशक नागेन्द्र साह, प्रबन्धकहरूः कमल प्रसाद शर्मा,बाबुराम राई र नेत्र प्रसाद काफ्ले र उप-निर्देशक शरदप्रसाद पौडेललार्इ अख्तियारले हिरासतमा लिएको हो । त्यसैगरी उप-प्रबन्धक नवविनोद पोखरेल, सहायक प्रबन्धक प्रदिपमान वसी र बरिष्ठ सहायक देवी प्रसाद न्यौपानेलार्इ आयोगले हिरासतमा लिई अनुसन्धान थालेको जनाएको छ । फरार रहेका उप-निर्देशक सुशील भट्टराईको खोजी भइरहेको अख्तिायरले जनाएको छ ।
लगातार घाटामा गइरहको आयल निगमले अर्थ मन्त्रालयको निर्देशन विपरित बोनस वितरण गरेको भन्दै अख्तियारले छानविन गरिरहेको छ ।
आ.व. ०६६।६७ को अन्त्यमा करिव ११ अर्ब ४४ करोड ऋण तिर्न बाँकी हुँदाहुँदै बोनस वितरण गरी १ करोड ७२ लाख ५८ हजार ४ सय ५ रूपैयाम ४१ पैसा निगमलाई हानिनोक्सानी पुर्याएको देखिएको अख्तियारले जनाएको छ ।