छैठौं एनआरएन बैठक स्वीजरल्याण्डमा
छैठौं एनआरएन बैठक स्वीजरल्याण्डमा
यूरोपमा नेपाली एकता,प्रगति र पहिचान सामूहिक लागानीमा नयाँ अभियान“ भन्ने नाराका साथ छैठौं एनआरएन युरोपियन क्षेत्रिय बैठक तथा चौंथौ क्षेत्रिय महिला सम्मेलन आगामी जुन २२– २३, २०१३ मा जुरिक स्वीजरल्याण्डमा आयोजना गरिनेभएको छ ।जुनको २२ तरीख बिहान उद्घाटन भै दुई दिनसम्म विभिन्न महत्वपुर्ण विषयहरुमा अन्तरकृया तथा प्रस्तुतिहरु सहित २३ तारिखमा घोषणापत्रहरु जारी गर्दै कार्यक्रम समापन हुनेछ । गैर आवासीय नेपाली अभियानका अनुभव र अभ्यासहरुलाई साटसाट गरि एनआरएनएको संस्थागत विकास गर्ने, सामुहिक रुपमा गैर आवासीय नेपाली संघ तथा नेपालीहरुका साझा सवालहरुमा छलफल गर्ने एनआरएनको परम्परा अनुसार युरोपेली बैठकहरुको आयोजना गरिदै आएको छ । यस पटकको युरोपेली क्षेत्रिय कार्यक्रमको औपचारिक सुरूवात हुनु भन्दा अघि जुन २१ तारिखको साँझमा युरोपेली राष्ट्रिय समन्वय परिषदहरूको अन्तरकृया कार्यक्रम आयोजना गरिने एनआरएन युरोप क्षेत्रिय संयोजक कुमार पन्तले बताए ।
बैठकमा सामुहिक लगानीका सवालहरु, नेपाली नागरिकताको निरन्तरता, नेपाल सरकारको आर्थिक कुटनीति, सुरक्षित आप्रवासन र प्रवासमा रहँदा गैर आवासीय नेपालीहरुका साझा सवालहरुमा समुहगत छलफल र राष्ट्रिय समन्वय परिषदका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरिने एनआरएनए स्वीजरल्याण्डका अध्यक्ष विनय श्रेष्ठले बताएका छन् ।
युरोपेली क्षेत्रिय बैठक संगै हुदै आइरहेको क्षेत्रिय युरोपेली महिला सम्मेलन पनि यस अवसरमा आयोजना हुँदैछ । युरोपका प्रवासी नेपाली महिलाहरुको व्यवसायिक र पेशागत जीवनमा कसरि स्थाई एवं सकारात्मक परिवर्तन ल्याउन सकिन्छ र नेपालमा नेपाली महिलाहरुलाई कसरि सहयोग पुर्याउन सकिन्छ भन्ने सवालहरुमा चौंथौ क्षेत्रिय महिला सम्मेलन केन्द्रित रहने बताइएको छ । महिला सम्मलेनलाई व्यवस्थित र फलदायी बनाउनको लागि एनआएनए रसियाकी अन्तराष्ट्रिय समन्वय परिषद सदस्य सपिला राजभण्डारीको संयोजकत्वमा एक आयोजक उपसमिति गठन गरिएको छ ।