चलचित्र निर्देशक घोषको निधन
काठमाडौं, जेठ १६ – भारतका चर्चित चलचित्र निर्देशक ऋतुपर्णो घोषको ४९ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।उनको निधन दक्षिण कोलकाताको आफ्नै निवासमा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।१२ पटक राष्ट्रिय पुरस्कार र केही अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएका घोष केही समययता पाचन प्रक्रियामा देखिएको समस्याबाट पीडित थिए ।१९९२ देखि फिल्मी करियर सुरु गरेका घोषले १९९४ मा ‘हिरेर अंगति’ (हिराको औंठी) नामको फिल्म बनाएका थिए । उनले ‘उनिशे अप्रिल’, का लागि १९९५ मा राष्ट्रिय पुरस्कार पाएका थिए ।घोषका ‘दशन’, ‘असुख’, ‘बेरीवाली’, ‘अन्तरमहल’, ‘नौकादुबी’ लगायतका चलचित्र निकै सफल मानिन्छन् । बंगाली चलचित्र ‘चित्रांगदा’ (२०१२) उनको अन्तिम चलचित्र हो ।
हिन्दी, अँग्रेजी र बंगाली तीनओटै भाषामा उत्कृष्ट चलचित्र निर्देशन गरेका घोषले १२ वटा राष्ट्रिय पुरस्कार पाएका थिए ।
ऐश्वर्या रायद्वारा अभिनित ‘चोखेर बाली’ (सन् २००३), ऐश्वर्या र अजय देवगन अभिनित ‘रेनकोट’ (२००४) र अमिताभ बच्चनद्वारा अभिनित ‘द लास्ट लियर’ (२००७) उनका सर्वाधिक चर्चित चलचित्र हुन् ।
उनले बंगाली चलचित्र ‘आबहमान’ का लागि निर्देशन तर्फको राष्ट्रिय पुरस्कार पाएका थिए । घोष समलिंगी थिए र समलैंगिकताका विषयलाई आफ्नो चलचित्र कलामा उतार्ने गर्थे ।
पछिल्लो समय उनले रवीन्द्रनाथ टैगोरमाथि डकुमेन्ट्री निर्माण गरिरहेका थिए । उनको निधनप्रति भारतीय कलाकारहरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् ।