मलेशियामा नेपाली अलपत्र
धादिङ, असार ४ – गत जेठ ३१ गते नेपालबाट वैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३३ जना नेपाली पाँच दिनदेखि मलेसिया अन्र्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । मलेशिया उडेका ३३ जना मध्य १९ जना काठमाडौं बालाजुमा रहेको इनोभेटिभ सर्भिसबाट गएका थिए । गतशुक्रबार दिउँसो नेपालबाट मलेसिया उडेका ति सबैलाई शनिवार विहान मात्र मलेसियाको विमानस्थल पुर्याईएको थियो । बैंककमा केही बेर रोकिएका कारण शनिबार विहान मलेसिया पुगेका नेपालीहरु मंगलबार विहानसम्म पनि एयरपोर्टमा अलपत्र परेपछि उनिहरुले सहयोगका लागि आफन्तहरुलाई आग्रह गरेका छन ।
म्यानपावर कम्पनीले एयरपोर्ट पुग्नासाथ मलेशियाको कम्पनीले सम्पर्क गर्छ भने पाँच दिनसम्म पनि कसैले सम्पर्क नगरेको अलपत्र परेका धादिङका विराट दुवाडीले जानकारी दिए । भाषा नजान्दा अलपत्र परेका नेपालीहरुलाई थप समस्या परेको उनले बताए । उनले नेपाल फर्काइदिन आग्रहसमेत गरेका छन्  ।
यस्तै पाँच दिन अघि नै अरु म्यानपावरबाट मलेशिया पुगेका १५ जना नेपालीलाई भने मलेशियाको अध्यागमन विभागका प्रहरीले नक्कली भिसा प्रयोग गरेको आरोपमा नियन्त्रणमा राखी छानविन गरिरहेको पनि दुवाडीको भनाइ छ ।
उनीहरुले म्यानपावरलाई प्रतिव्यक्ति एक लाख ४० हजार रुपैयाँ वुझाएका थिए । इनोभेटिभ कम्पनीका प्रमुख हरि गुरुङ सम्पर्कमा छैनन् भने अर्का एजेण्ट टेक अधिकारीले आफुले इनोभेटिभ मार्फत १९ जनालाई मलेशिया पठाएको स्विकार गर्दै आफु कम्पनीको प्रतिनिधि नभइ मलेसियाका कम्पनीबाट कामदारको लागि भिसा खोजिदिने व्यक्ति भएको वताए ।
अधिकारीले शनिबार र आइताबार मलेसियामा सार्वजनिक विदा भएकाले रोजगारदाताहरु कामदारको सम्पर्कमा नआएको भएपनि मंगलबार बेलुकासम्म उनिहरुको उद्दार गरिसक्ने बताएका छन्  ।

 
                 
                             
                             
                         
                        