साउदीमा नेपालीहरु अलपत्र
काठमाडौं, ७ असार । आममाफीको अवसरमा घर फिर्न काम छाडेर बसेका ठूलो संख्याका नेपाली साउदी अरबका विभिन्न ठाउँमा अलपत्र परेका छन् । साउदी सरकारका निकायहरुबीच आपसी समन्वय नुहँदा उनीहरु अप्ठ्यारोमा परेका बताएइको छ ।उनीहरु दमाम, जेद्दाका पार्क, पुल र रुखमुनि रात बाट्न बाध्य छन् । सबै प्रक्रिया पूरा भए पनि हवाई टिकट नपाएर खजुरको रुखमुनि बस्न बाध्य भएकाहरु पनि त्यतिकै छन् । दमामस्थित सिको गार्डेनमा मात्रै खजुरको रुखमुनि तीनसय भन्दा बढीले रात काटिरहेका छन् ।
जेद्दास्थित पुलमुनि पनि सयौं छन् । दिनभर साउदीको चर्को घाममा पासपोर्ट कार्यालयअगाडि लाइनमा बसेर हैरानी खेपेका नेपाली रात बिताउन खजुरको रुखमुनि, पुल, पार्कमा पुग्ने गरेको पीडितले बताएका छन् । हाउसमेड काममा गएर भागेका ६० भन्दा बढी महिला दूतावासको शरणमा पुगेका छन् ।
घर फिर्ति प्रक्रियामा सामेल भएको डेढ महिना हुनलाग्यो, सम्भव भएको छैन । म जस्ता सयौंको संख्यामा रहेका नेपाली जेद्दाको पुलमुनी बसिरहेका छन्, जेद्दाबाट सम्पर्कमा आएका पुतलीबजार स्याङ्जाका रमेश ढुंगानाले भने, हामीलाई बास दिने निकाय छैन । घर जानका लागि काम गर्ने कम्पनी छाडिहाल्यौ ।काम पनि छैन । विहान खाए वेलुका के खाउँ भएको छ ।