न्युयोर्कमा लिम्बु संस्कृती झल्काइने
न्युयोर्क, आगमी जुलाई १४ तारिखका दिन अमेरिकामा रहेका किरात लिम्बुहरुले किरांत लिम्बुहरुको संस्कृती झल्काउने भएका छन् । जुलाई १४ तारिखको दिनमा हुन लागेको कार्यक्रमका बारेमा जानकारी दिन गरिएको पत्रकार भेटघाटमा बोल्दै किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष देबेन्द्र सम्बाहाम्फे लिम्बुले आगामी जुलाई १४ मा न्युयोर्कको क्वीन्सब्रिज पार्कमा सिसेक्वा तङनाम मनाइने जानकारी दिए । किरात याक्थुङ चुम्लुङ अमेरिकाले विगतका वर्षहरुका भन्दा यस पटक फरक तरिकाले सांस्कृतीक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।विगतका वर्षहरुमा पिकनिकको रुपमा गरिदै आएको यसपटक किराँत नाच र किराँत संस्कृति झल्काउने विभिन्न कार्यक्रमका साथ यो पर्व मनाउन लागिएको हो । विगतमा ताम्भुङचा कार्यक्रम मनाइदै आएको भएता पनि केन्द्रको निर्देशन अनुशार यो वर्षदेखि सिसेक्वा तङनाम मनाउन लागिएको हो ।पत्रकार भेटघाटमा किराँत याक्थुङ चुम्लुङ अमेरिकाकी महासचिव सभद्रा लावती र फिप्नाका महासचिव दीपेश लिम्बुले पनि यो पर्वबारे थप जानकारी दिनुभएका थिए । देश लिम्बुको संयोजकत्वमा हुन लागेको कार्यक्रममा उपस्थीतिका लागि समेत सबै किराँत लिम्बुहरुलाई अनुरोध गरिएको छ । सिसेक्वा तङनाम किराँत लिम्बुहरुले मनाउने प्राचिन र महत्वपूर्ण पर्व मध्येको एउटा हो । किराँत पात्रो अनुशार सातौं महिनामा मनाइने यो पर्व मनाउनुको पछाडि रोचक धामिर्क कथा रहेको छ । कुनै बेलामा भोकको राजा मानिने सक्चयोङ आएर लिम्बुहरुको घरमा पसेर सबै चिज खाइदिन्थ्यो । उसले सबै खाना खाइदिने भएकाले लिम्बुहरुको बस्तीमा भोकमरी हुन्थ्यो । भोममरीबाट बच्नका लागि सबै लिम्बुहरु मिलेर सक्चयोङलाई भगाएका थिए । अहिले पनि अनिकाललाई भगाएर सहकाल निम्त्याउने पर्वका रुपमा यो पर्वलाई मान्ने गरिन्छ ।