कोरियामा कार दुर्घटनामा नेपालीको मृत्यु
काठमाडौं, १९ असार– दक्षिण कोरियामा मंगलबार राति भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । स्थानीय समयअनुसार मध्यराति भएको सो दुर्घटनामा दाङ तुल्सीपुरका शैलेन्द्र थापाको मृत्यु भएको हो ।  मृतक थापा ईपीएस मार्फत रोजगारी गर्न ४ वर्ष १० महिनाअघि त्यहाँ पुगेका थिए ।  उनी मंगलबार बेलुका काम सकेर नवराज न्यौपाने र विनोद विकसहित कारमा घुम्न बाहिर निस्केका थिए । नजिकैको बजारमा मादक पदार्थ सेवन गरेर फर्कने क्रममा उनीहरु सवार कार इल्याङ भन्ने ठाउँमा उभिइरहेको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा परेपनि विक र न्यौपाने सुरक्षित छन् । उनीहरु अघिल्लो सिटमा थिए ।  अविवाहित मृतक थापा मत्स्यपालन भिसामा कोरिया आएर विगत ४ वर्षदेखि मोबाइलको पार्टपूर्जा बनाउने देह्वा नामक कम्पनीमा अवैधानिकरुपले काम गर्दै आएका थिए ।  थेगु ट्राफिक कार्यालयले सवारी साधन र चालक न्यौपानेलाई नियन्त्रणमा लिएको छ । सो कार पनि न्यौपानेले चलाएको भएपनि विकको नाममा रहेको छ ।  सो कार चितवनका नवराज न्यौपानेले चलाएका थिए ।  

 
                 
                             
                             
                         
                        