भारतीय विदेशमन्त्री नेपाल आउँदै

काठमाडौँ, २१ असार । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको निमन्त्रणामा भारतका विदेशमन्त्री सलमान खुर्सिद नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी मङ्गलबार नेपाल आउने भएका छन् । नेपाल भ्रमणमा आउन लागेका उनका भारतीय समकक्षीका साथ त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उक्त मन्त्रालयका अनुसार राष्ट्रपति डा रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र मन्त्री घिमिरेसँग भारतीय विदेशमन्त्रीले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
संविधानसभाको निर्वाचनप्रति भारत सरकारको ऐक्यबद्धता जाहेर गर्न मन्त्री खुर्सीद यहाँ आउन लागेको र निर्वाचनलाई सफल पार्न के–कस्तो सहायता गर्न सकिन्छ भन्नेमा नै उनको भ्रमण केन्द्रित हुने उक्त मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा बताए ।
“मुलुकमा निर्वाचनको वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकबाट यसलाई सफल पार्न पूर्ण सहयोग एवम् समर्थनको प्रतिबद्धता व्यक्त भएको छ,”– निर्वाचनसँग सम्बन्धित विषयमा नै केन्द्रित भएर दुवै देशका अधिकारीबीच वार्ता हुने स्पष्ट गर्दै उन ले भने ।
यसैबीच, यहाँस्थित भारतीय राजदूतावासका प्रवक्ता अभय कुमारले मन्त्री खुर्सीदको भ्रमण दलका सदस्यको विस्तृत विवरण विदेश मन्त्रालयले तयार पारिनसकेको र उनले नेपालमा रहँदा राजनीतिक दलका नेतासँग भेट गर्नेबारेमा पनि यकिनका साथ अहिले नै भन्न नसकिने जानकारी दिए ।
दुई मुलुकका मन्त्रीहरुबीच नेपाल–भारत सम्बन्ध विस्तार तथा आपसी हित र चासोका विषयमा विचार आदानप्रदान हुने उनले बताए ।
विदेश मन्त्री खुर्सीदको यो नेपालको पहिलो भ्रमण हो भने यसअघि तत्कालीन विदेश मन्त्री एसएम कृष्णा दुई वर्षअघि यहाँ आएका थिए ।