गोर्खाल्यान्डको माग गर्दै ‘सडकमा जनता’ कार्यक्रम

काठमाण्डौं, ४ भदौ । गोखाल्यान्डलाई छुट्टै राज्य घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएको सात पार्टीको साझा संगठन गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटीले आजदेखि ‘सडकमा जनता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि तय भएको ‘घरमा जनता’ कार्यक्रमलाई केही फेरबदल गरी सडकमा जनता कार्यक्रम तय गरिएको कमिटीले जनाएको छ ।
घोषित कार्यक्रम अन्तर्गत गोर्खाल्यान्ड माग गरिएका प्लेकार्ड र व्यानरसहित दार्जिलिङ क्षेत्रका स्थानीयबासीलाई सडकमा उत्रन आग्रह गरिएको छ । सो क्षेत्रका स्कूल, कलेज र पसल बन्द गराएर जनतालाई सडकमा उर्ताने तयारीमा कमिटी लागि परेको हो । पाँच दिनका लागि तय गरिएको घरमा जनता कार्यक्रम एक दिन गरेर बाँकी चार दिन सडकमा जनता कार्यक्रम गर्न लागेको कमिटीका संयोजक राजु प्रधानले जानकारी दिनुभयो ।
घरमै बसेर आन्दोलनका कार्यक्रम गर्दा आफ्ना माग सार्वजनिक नहुने भएकाले सडक मार्फत सरकारको ध्यानाकर्षण गराउन कमिटीले आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।