नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको दशौं बैठक बेइजिङमा सुरु
काठमाडौं, ११ भदौ । नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श गर्न द्विपक्षीय परामर्श संयन्त्रको दशौं बैठक आजदेखि चीनको राजधानी बेइजिङमा सुरु हुँदैछ ।पारस्परिक सम्बन्धलाई नयाँ दिशा निर्देश गर्ने तथा अझ प्रगाढ बनाउने उद्देश्यले परराष्ट्रमन्त्रीस्तरमा स्थापना भएको संयन्त्रको बैठकमा गतवर्ष काठमाडौंमा नै भएको थियो । बैठकका सहमति कार्यान्वयनको समीक्षा हुने परराष्ट्र मन्त्रालयको चीन महाशाखाका प्रमुख अम्बिकादेवी लुईंटेलले बताइन् ।
बैठकमा व्यापार, वाणिज्य, लगानी, पूर्वाधार निर्माणका साथै चिनियाँ सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल हुने जानकारी दिँदै उनले चिनियाँ ‘स्टेट काउन्सिलर’ याङ जेइचीको गत असारमा भएको नेपाल भ्रमणका बेला भएका सहमति कार्यान्वयनको पुनरावलोकन गरिने बताइन् । बैठकमा चीनसँगको व्यापार घाटा कम गर्ने उपाय, पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणका साथै चिनियाँ एक्सपोर्ट–इम्पोर्ट बैंकबाट सहुलियतपूर्ण ऋणमा नेपाल वायुसेवा निगमका निम्ति विमान खरिद गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापाको नेतृत्वमा उक्त मन्त्रालयको तीन सदस्यीय टोली ३ दिन अघि नै चीनतर्फ प्रस्थान गरीसकेको छ । प्रतिनिधिमण्डलमा सहसचिव लुईंटेल र चीन महाशाखाका उपसचिव रिता धिताल छन् ।