मलेसियामा विदेशी कामदारलाई स्वदेश फर्काउन धरपकड

२०७० भाद्र १७ गते, सोमबार

काठमाडौं, १७ भाद्र — मलेसिया सरकारले अवैध बसिरहेका विदेशी कामदारलाई स्वदेश फर्काउन धरपकड सुरु गरेको छ। पहिलो दिन दुई सयभन्दा बढी नेपाली पक्राउ परेको नेपाल–मलेसिया बैदेसिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले जानकारी दिए।उनका अनुसार राजधानी क्वालालम्पुरलगायत जोहोरबारु, पेनाङ, इपो, केलाङ र देंगकिल क्षेत्रबाट बढी पक्राउ परेका छन् । नेपाली कामदार बढी बस्ने पेनाङ र जोहोरबारु नै हुन्।’दुई सयभन्दा बढी नेपाली समातिएको खबर छ, तर यहाँको अध्यागमन विभाग र नेपाली दूतावासले केही जानकारी दिएको छैन,’ उनले आइतबार बेलुकी नागरिकसँग टेलिफोनमा भने, ‘पक्राउ परेका सबै अवैधानिक नहुन सक्छन्, सोमबार अफिस खुलेपछि मात्र यकिन थाहा हुन्छ।’ मलेसियाली अध्यागमन विभाग नेतृत्वको टोलीले शनिबार मध्यरातदेखि नै धरपकड सुरु गरेको थियो । तीन बजे बिहान सबभन्दा बढी पक्राउ परेका थिए । राति अबेरसम्म यो क्रम जारी रहेको त्यहाँका नेपाली व्यवसायी तथा कामदारले बताएका छन्।गएको वर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्षित गरी मलेसिया सरकारले यो अभियान थालेको हो। यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजारभन्दा बढी प्रभावित हुनेछन्। मलेसियामा विभिन्न देशका करिब २० लाख कामदार अवैध रूपमा बसिरहेको अनुमान छ। पेनाङ बस्ने म्याग्दी, खबराका महेन्द्र थापाका अनुसार प्रहरी, सेना र रेलाका कर्मचारी राति १२ बजे नै आएर कोठा–कोठा खानतलासी गर्दै विदेशी कामदार पक्राउ गर्न थालेका थिए । ‘डकुमेन्ट भएकालाई छाड्दै, नभएका सबैलाई पक्राउ गरेका छन्,’ उनले टेलिफोनमा भने, ‘पेनाङको बुकित राजामा धेरै नेपाली समातिएका छन्।’
क्वालालम्पुरको कोतरायमा पनि १० ट्रक विदेशी कामदार पक्राउ गरिएको प्रत्यक्षदर्शी हाकिम श्रेष्ठले जनाए । ‘प्रहरीले नेपाली रेस्टुरेन्ट, नेपाली पसल र जमघट हुने ठाउँमा छापा मार्दै पक्राउ गरेका छन्,’ उनले भने, ‘कतिपयलाई डकुमेन्ट हेरेर पछि छाडिएको छ ।’मलेसियामा रहेको नेपाली दूतावासले विदेश फर्कन चाहने नेपाली कामदारलाई ‘ट्राभल डकुमेन्ट’ बनाई सहयोग गर्ने जनाएको छ । यसको निम्ति दूतावास टोली आइतबार जोहोरबारु क्षेत्र पुगेको श्रमसहचारी अमल किरण ढकाललाई उद्धृत गर्दै भट्टराईले जनाए ।मलेसियाको अध्यागमन विभागले चार दिनअघि ‘देशकै ठूलो अपरेसन’का रूपमा यो अभियान घोषणा गरेको थियो । अध्यागमनको नेतृत्वमा प्रहरी, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका छुट्टाछुट्टै टोली एकैचोटि विभिन्न ठाउँमा खटिएका छन् । पहिलो खेपमा करिब ५ लाखमाथि छापा मार्ने योजना छ । सरकारी र स्वयंसेवी संस्थाका १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । शंकास्पद स्थलहरूमा सुरक्षा टोलीले रेकी गरिसकेको अध्यागमनले जनाएको छ । समातिएकाहरूलाई तुरुन्तै सम्बन्धित देश फिर्ता पठाइनेछ ।स्थानीय सञ्चारमाध्यमहरूले नेपाली कामदारसँगै बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, म्यानमारी कामदार पक्राउ परेको जनाएका छन् । द स्टार दैनिकको अनलाइन संस्करणमा आइतबार बिहानसम्म ७१ जनालाई समातिएको उल्लेख छ । प्रत्यक्षदर्शीहरूले भने संख्या त्योभन्दा धेरै हुने बताएका छन् ।यो अपरेसन गत वर्ष आममाफी दिँदा प्रक्रियामा नआएका अवैधानिक कामदारमाथि लक्षित छ । मलेसिया सरकारले अवैधानिक विदेशी कामदारलाई आफैं स्वदेश फर्कने गरी पोहोर आममाफी कार्यक्रम ल्याएको थियो । त्यसमा अनुमानित २० लाखमध्ये १३ लाख मात्र दर्ता भएका थिए । दर्ता नभएकाहरूलाई लक्ष्य गर्दै छापा मार्ने, समात्ने र तुरुन्तै स्वदेश पठाउने अभियान थालिएको हो ।सबैलाई थुन्दा त्यहाँका १२ बन्दीगृहको क्षमताले नधान्ने भन्दै समातिनेबित्तिकै आ–आफ्नो देश फिर्ता पठाउने नीति लिएको अध्यागमनले जनाएको छ । प्रत्येक बन्दीगृहको क्षमता हजार हाराहारी मात्रै छ ।यो अपरेसन तीन महिना सञ्चालन हुने त्यहाँको अध्यागमनले जनाएको छ । छापा पार्ने क्रममा अवैधानिक कामदार ल्याउने र काम लगाउने कम्पनी तथा व्यक्तिलाई पनि ५ लाख रिंगेट र २० वर्षसम्म जेल सजाय हुनेछ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार एउटा कम्पनी छाडेर अर्कोमा जाने, त्यहीँ बिहे गर्ने, धर्म परिवर्तन गर्नेलगायत कारणले थुप्रै नेपाली अवैधानिक भएका छन् । ती सबै कामदार पक्राउ परेर नेपाल पठाइए क्षतिपूर्तिको समस्या उत्पन्न हुनसक्ने व्यवसायी बताउँछन् । सरकारले जुनसुकै तरिकाबाट कामदार फर्कनु परे पनि सम्बन्धित म्यानपावर कम्पनीले क्षतिपूर्ति भर्नैपर्ने नियम बनाएको छ ।वैदेशिक रोजगारका निम्ति मलेसिया नेपालको एक प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष १ लाख ५६ हजार ७ सय ७० नेपाली मलेसिया पुगेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु