मलेसियाको सेक्युरिटि गार्डमा जाँदा ४० हजारमात्रै लाग्ने
काठमाण्डौं,२३ भदौ । अबदेखि म्यानपावर एजेन्सीले मलेसियामा सुरक्षागार्ड पठाउदा ४० हजार रुपैयाँभित्रै लिन पाउने भएका छन् । म्यानपावर एजेन्सीले गार्ड पठाउँदा भिसा र कमिसनबापत ३ लाख रुपैयाँसम्म असुल गर्न थालेपछि सरकारले अंकुश लगाएको छ । सरकारी निर्देशनसँग अब म्यानपावरले निर्धारित ४० हजार रुपैयाँभित्रै सुरक्षागार्ड पठाउनुपर्नेछ ।मलेसियाको रोजगारदाता कम्पनी/एजेन्सीले दूतावासमा लिखित रुपमा भिसा रकम बेहोर्ने र कमिसन नलिने प्रतिबद्धता गरेमात्र वैदेशिक रोजगार विभागले पूर्व र अन्तिम श्रमस्वीकृति दिनेछ । यस्तो व्यवस्थाबाट कामदारको लागत खर्च, कैयौं गुणा घट्ने कारोबार दैनिकमा खबर छ । सुरक्षा गार्डमा जाने कामदारले प्रवर्द्धन शुल्कबापत १० हजार, बिमा तथा श्रम स्वीकृतिवापत ५ हजार र टिकट २५ हजार रुपैयाँ गरी ४० हजार भन्दा बढी तिर्नुपर्दैन ।
मलेसियाले ‘इमान्दार र बहादुर भएकाले’ सुरक्षा गार्डमा नेपालीलाई मात्र लिने हुँदा त्यहाँका स्थानीय एजेन्सीले कमिसनका आधारमा बाँडफाँड गर्छन । नेपालका म्यानपावर एजेन्सीबीच उनीहरुलाई बढी कमिसन दिने होडबाजी चल्छ । यहाँका कुनै म्यानपावरले कमिसन नतिर्ने प्रतिवर्द्धता गरे सम्पूर्ण खर्च त्यहाँका रोजगारदाता कम्पनीले बेहोर्ने स्वयं व्यवसायीहरु बताउँछन् । सरकारले यो निर्णयबाट राम्रो काम गर्ने व्यवसायीलाई भने फाइदा पुगेको छ ।