चिनियाँ उपमन्त्री नेपाल आउँदै
काठमाडौं,२ पुस— चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आई पिङ आज साँझ काठमाडौं आउँदैछन्। बेइजिङमा नेपाल नीतिका प्रभावशाली अधिकारी आई पिङले काठमाडौँमा शीर्ष नेताहरूसँग भेटवार्ता गरी निर्वाचनपछि नेपालको राजनीतिक अवस्थाबारे अध्ययन गर्ने काठमाडौँस्थित चिनियाँ दूताबास स्रोतले जनाएको छ।चिनियाँ दूताबासको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेको आई पिङको टोलीमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका छ सदस्य रहनेछन् ।अन्तर्राष्ट्रिय विभागको उपमन्त्रीको रुपमा २०१० देखि नै दक्षिण एसिया मामिला हेर्दै आएका आई पिङ निर्वाचनपछि नेपाल आउने उच्च राजनीतिक अधिकारी हुनेछन्। यसअघि चीनको विदेश मन्त्रालयमा बाह्य सुरक्षा विभागका निर्देशक तथा नेपालका लागि पूर्व राजदूत छ्यू गोहाङ र संस्कृति उपमन्त्री जिङ लिइनले नेपाल भ्रमण गरेका थिए ।संविधानसभा निर्वाचनपछि चीनले सहमतीको आधारमा चाँडै नयाँ संविधान निर्माण गर्न पार्टीहरूलाई आग्रह गर्दै आएको छ ।दूतावास स्रोतका अनुसार आई पिङको टोलीले बुधबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि एमाले अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य लगायतसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपतिसँग भेटवार्ता गर्ने उनको कार्यक्रम छैन।