३० लाख नेपाली आप्रवाशी

२०७० पुष ३ गते, बुधबार


काठमाडौं,३ पुस । विश्वमा बढ्दै गएको आप्रवाशनसँगै नेपालबाट विदेश जानेहरुको संख्या करिब साढे ३० लाखको हाराहारीमा पुगेको छ । डिसेम्बर १८ मा विश्वभर मनाइने अन्तरराष्ट्रिय आप्रवाशी दिवसका अवसरमा सार्वजनिक गरिएको एक आधिकारिक तथ्यांकमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या ३० लाख २१ हजार ३ सय २ पुगेको छ । यो तथ्यांकमा अध्ययन, पर्यटन, पारिवारिक सम्बन्ध, व्यापार तथा सरकारी अभिलेख बाहिर रहेका नेपाली समावेश छैनन् ।
तथ्यांक अनुसार हाल विश्वमा २१ करोड ४० लाख मानिसहरु आप्रवाशनमा रहेका छन् । यसको २५ प्रतिशत हिस्सा एशिया प्रशान्त क्षेत्रले ओगटेको छ । नेपालीहरु आप्रवाशनमा जान थालेको करिब दुई सय वर्ष पुगेको छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि कानूनी वातावरण भने नेपालमा विसं.०४२ सालदेखि बनेको हो ।
संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार तथा तिनका परिवारहरुको अधिकार संरक्षण सम्बन्धी अन्तरराष्ट्रिय महासन्धी पारित गरेपछि सन् १९९० डिसेम्बर १८ देखि विश्वभर अन्तरराष्ट्रिय ‘आप्रवाशी’ दिवस मनाउने गरिएको हो । यस अवसरमा नेपालमा पनि ‘सीप सूचना र अभिमूखीकरणः सुरक्षित र मर्यादित आप्रवाशन’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । राष्ट्रिय मानवअधिकार आयोगले समेत यो दिवस बनाउने गरेको छ ।
आप्रवाशी दिवसका अवसरमा श्रम तथा राजगार मन्त्री हरिप्रसाद न्यौपानेले नेृपाल बाहिर रहेका नेपाली जनसमुदायमा सुरक्षित आप्रवाशनका लागि अनुरोध गर्नुभएको छ । मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सीपयुक्त जनशक्तिलाई आप्रवाशनको समयचक्र र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सुसूचित गराई वैदेशिक रोजगारीमा पठाउन सकियो भने यसबाट दीर्घकालीन लाभ लिन सकिने बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु