कसैले भन्दैमा नेपालमा हिन्दु राज्य आउँदैनः भगतसिंह

२०७० पुष ८ गते, सोमबार


काठमाडौ, ८ पुस । नेपालमा हिन्दु राज्य भारतीय नेताहरुले भन्दैमा नआउने भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसीयारीले स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले भने–नेपाली जनताको चाहना छ, छिटो संविधानसभा गठन भएर नयाँ संविधान जारी होस । संविधानसभा मार्फत नेपाली जनताले हिन्दु राष्ट्र चाहे अवश्य पनि आउँछ तर भाजपाका नेता नरेन्द्र मोदी, अध्यक्ष राजनाथ सिह र मैले चाहेर यहाँ हिन्दु राष्ट्र हुँदैन । नेपाली जनताले जे चाहन्छन हामि पनि त्यही चाहन्छौ । जनता अनुकुलको राज्य हुनु पर्छ ।यद्यपि उनले मोदी र सिंहले कहिल्यै पनि नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा नगरेको स्पष्ट पारे ।साक्षात्कारमा कोसियारीले बहुसंख्यक हिन्दु रहेको राष्ट्रलाई सबैले हिन्दु बाहुल्य राष्ट्र भन्ने स्पष्ट पार्दै हिन्दुत्व संस्कार भएकोले कसैले पनि चाहँदैमा नष्ट पार्न नसक्ने ठोकुवा गरे ।
उनले नेपालमा राजतन्त्रात्मक वा बेलायती मोडल जस्तो सुकै भए पनि प्रजातन्त्र र विकास हुनु पर्ने भारतीय चासो भएको स्पष्ट पार्दै नेपालमा स्थिर सरकार बने आफैले भारतका मन्त्रीहरुसँग नेपाली नेताहरुलाई लगेर पञ्चेश्वर बाध निर्माणको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । कोसियारीले भने–पञ्चेश्वर बने नेपालको आधा आम्दानी त त्यहीबाट आउँछा । यहाँ संविधानसभा छिटो बनेर सबै दलको सहभागिता रहेको स्थिर सरकार छिटो बनोस । त्यसपछि राम्रो सुन्दर नेपाल निर्माण गर्न सकिन्छ ।
नेपाली जनताले अब नेपालमा बुलेट होईन ब्यालेट चल्छ, निरकुशता होईन प्रजातन्त्र चाहिन्छ भनेर आफ्नो भोट मार्फत धारणा ब्यक्त गरेको भन्दै अब छिटो संविधानसभा गठन गरेर अधिकांश दलहरु मिलेर सरकार बनाएर जनताको मतको सम्मान गर्नु पर्नेमा सुझाव दिए । उनले भने– भारतमा अटल विहारी बाजपेयीले २४ दलको सरकार ६ वर्षसम्म चलाउन सक्छन भने नेपालमा प्रमुख दलहरु मिलेर सरकार बनाउन किन सक्दैनन ? नेपाली जनताले नै एक्लै होईन मिलेर शासन गर भनेर दलहरुलाई मत दिएका छन।
नेपालमा संघीय राज्य हुनु पर्ने भन्दै उनले संघीय राज्य भए नेपालको दु्रत विकास हुने कोसियारीले तर्क गरे । यद्यपि उनले संसारमा अमेरिकी, फ्रान्सेली, बेलायती र भारतीय सहितका संघीयताका धेरै मोडल भएकोले कुन मोडलको संघीयता भन्ने कुरा यहीका दलहरुले निधो गर्नु पर्ने धारणा राखे ।
पशुपति नाथ, सगरमाथा र बुद्ध जन्मस्थान भएको नेपालमा विकासको प्रचुर सम्भावना भएको भन्दै संविधान र स्थिर सरकार बनाए नेपाललाई सगरमाथा जस्तै संसारकै शिर बनाउन सकिने विश्वास उनले ब्यक्त गरे ।केही दिन देखि नेपाल भ्रमणमा रहेका कोसियारीले यहाँ रहँदा नागरिक समाज, प्राध्यापक, कानूनविद्ध सहित राष्ट्रपति, मन्त्रीपरिषदका अध्यक्ष र प्रमुख दलका शिर्ष नेताहरुसँग भेटवार्ता गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]