मलेसियामा नेपालीको बिचल्ली
काठमाडौं, ११ पुस । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले वैदेशिक रोजगारको खोजीमा मलेसिया पुगेका हजारौं नेपाली त्यहाँको प्रहरी प्रशासनबाट लुक्दै जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको देखाएको छ । मलेसियामा पुगेका आधाभन्दा बढी कामदार दलालहरूको फन्दामा परेर घर न घाटको हुने गरेका छन् ।
‘नेपाली कामदार मलेसियाका लागि काठमाडौंमा प्लेन चढेदेखि नै ठगीको दुश्चक्रमा परेको देखियो ‘ गत अगस्टमा स्थलगत अध्ययन गर्न मलेसिया पुगेको आयोगका पदाधिकारी टोलीका सदस्यमध्ये निवर्तमान आयुक्त गौरी प्रधानले भने, ‘धेरैको जीवन त्यहाँ बधुवा मजदुरको जत्तिकै छ ।’सरकारी तथ्यांकअनुसार मलेसियामा साढे तीन लाख नेपाली कामदार भएको भए पनि स्थलगत अध्ययनका क्रममा झन्डै साढे चार लाख नेपाली त्यहाँ भएको देखिएको प्रधानले बताए । ‘उनीहरूमध्ये आधाचाहिँ मलेसियाको विमानस्थलमा उत्रने बित्तिकै ठगिन्छन्’ प्रधानले भने, ‘विमानस्थलमा कम्पनीका मान्छेले आफ्नै सर्तमा जबरजस्ती करार गराउँदा रहेछन् ।’
काठमाडौंका म्यानपावर व्यवसायीबाट गरिएभन्दा फरक करारनामा मलेसियाको विमानस्थलमा भएपछि नेपाली कामदारको मानसिक तनाव अत्यधिक बढ्ने गरेको प्रधानले बताए । उनीहरूलाई कबोल गरिएभन्दा भिन्दै र जोखिमपूर्ण काम गर्न लगाइने, काम गर्ने समय बढाइने र तलब कम दिइने प्रवृत्ति एकदमै देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी जबरजस्ती आफ्नै सर्तमा काम लगाउने कम्पनीले नेपाली कामदारको पासपोर्ट, करारनामा लगायतका कागजात राख्ने गर्छन् । ‘चर्को शोषणमा परेपछि नेपाली कामदार गरिराखेको कम्पनीको काम छाडेर अर्को कम्पनीमा जाँदा रहेछन्, पुरानो कम्पनीले करारमा लेखिएको समयसम्म काम नगरेको भनेर कागजात जफत गर्दोरहेछ’ प्रधानले भने, ‘अनि त उनीहरू तुरुन्तै इलेगल हुन्छन्, प्रहरीले समात्यो कि थुनिदिन सक्छ ।’
‘हजारौं नेपाली यसरी रातारात ‘ गैरकानुनी आप्रवामा बदलिने गरेको र उनीहरूको मानवअधिकारको अवस्था ज्यादै नाजुक भएको प्रतिवेदनमा उल्लेख छ ।यस्तो अवस्थाका नेपालीले लुकीलुकी कम्पनीहरूमा कम पैसामा काम गरिरहेको प्रधानले बताए । उनका अनुसार आफूमाथि दुव्र्यवहार हुँदा, कुटिँदा, सामानहरू चोरी हुँदा र कम्पनीले पैसा नदिँदासमेत यस्ता नेपालीहरू प्रहरीकोमा उजुरी गर्न जान सक्दैनन् ।‘मेरै आँखा अगाडि एक जना नेपालीलाई मलेसियाको ट्याक्सी ड्राइभरले घाउ हुने गरी चुट्यो’ प्रधान भन्छन्, ‘तर भिसा, पासपोर्ट केही पनि नभएकाले प्रहरीकोमा उजुरी गर्न जाने हैसियत ऊसँग थिएन ।’