मलेसिया सरकारले विदेशी कामदारविरुद्ध देशव्यापी धरपकड थाल्ने
क्वालालम्पुर , ४ माघ । मलेसिया सरकारले सोमबार रातिदेखि गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारविरुद्ध देशव्यापी धरपकड थाल्ने भएको छ । मलेसियाको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले सम्वन्धित देशका राजदूतावासलाई पत्र लेखेर सोमवार राति १२ वजेदेखि देशब्यापिरुपमा धरपकड सुरु हुने जानकारी दिएको छ ।‘मलेसियाली सरकारले पठाएको पत्र भर्खरैमात्र प्राप्त भएको छ’ क्वालालम्पुरस्थित नेपाली राजदूतावासका द्वितिय सचिव चक्र सुवेदीले अनलाइनखबरसँग भने-’नेपाली कामदारहरु समस्यामा नपरुन भनेर भोली आइतवार पनि दूतावास खुल्ला गर्न लागेको छौँ ।’
गैरकानुनी अवस्थामा रहनु भएका सवैले तत्कालै राजदूतावासमा सम्पर्क गरी ट्राभल्स डकुमेण्ट लिन र टिकट पनि तयारी अवस्थामा राख्न सुवेदीले आग्रह गरे ।
‘अपरेसन बरसेपाड’ अर्थात एकीकृत अपरेसन नाम दिइएको यो धरपकड अभियानमा अध्यागमन अधिकारी, प्रहरी, गैरसैन्य दस्ता, अन्य स्वयंसवकहरु आवद्ध हुने जनाइएको छ । अघिल्लो आममाफी तथा बैधता कार्यक्रममा दर्ता भए पनि बैध बन्न छुटेकालाई पुनः बैधानिक बन्न मलेसियाले गत सेप्टेम्बर २० देखि जनवरी २० तारिखसम्म विशेष अवसर दिएको थियो ।
पटक पटक बैध हुन अवसर दिएपनि अझै १० लाख विदेशी कामदार गैरकानुनी हैसियतमा रहेको हुनसक्ने अनुमान गर्दै धरपकडको शुरुवात गर्न लागेको यहाँका गृहमन्त्रीलाई उदृत गर्दै स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
समातिएपछि गैरकानुनी कामदारलाई डिपोर्ट सेन्टरमा राखिने र यहांस्थित सम्बन्धित देशका दूतावास तथा नियोगहरुको सहकार्यमा उनीहरुलाई सम्बन्धित मुलुक फर्काइने जनाइएको छ ।डिपोर्ट सेन्टरमा राखिएपछि कामदारले नै घरफिर्ती टिकट किन्नुपर्ने हुन्छ । डिपोर्ट सेन्टरबाट घर फर्किने कामदारका लागि दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराउँदै आएको छ ।आममाफी प्रकृयामा सहभागी भएर हालसम्म ३० हजारभन्दा बढि नेपालीहरु बैधानिक भइसकेका छन् । अझै हजारौंको संख्यामा मलेसियामा अबैधानिकरुपमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।नेपालीसहित इन्डोनेसियाली, बंगलादेशी, फिलिपिनो, बर्मेली लगायत कामदार पनि अबैधानिकरुपमा बसोबास गरिरहेका छन् ।