अवैध विदेशी कामदारविरुद्ध मलेसियामा धरपकड सुरु
काठमाडौं , ६ माघ। मलेसिया सरकारले आज रातिबाटै आफ्ना मुलुकमा अवैध रुपमा बस्दै आएका विदेशी कामदारविरुद्ध देशव्यापी धरपकड थाल्ने भएको छ ।मलेसियाको गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका राजदूतावासलाई पत्र लेखेर सोमबारदेखि राति १२ बजेदेखि देशव्यापी रपमा धरपकड सुरु हुने जानकारी दिएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासले मलेसियाली सरकारले पठाएको यस्तो पत्र प्राप्त भएपछि आफ्ना कामदारलाई आइतबार नै सम्पर्कमा आउन आग्रह गरिसकेको बताएको छ । धरपकडका बेला नेपाली कामदारहरु समस्यामा नपरुन् भनेर आइतबार पनि दूतावास खुला गर्न लागेको सो दूतावासले जानकारी दिएको छ ।शनिबार विज्ञप्तिमार्फत गैरकानुनी अवस्थामा रहेका सबैले तत्कालै दूतावासमा सम्पर्क गरी ट्राभल्स डकुमेन्ट लिन र टिकट पनि तयारी अवस्थामा राख्न दूतावासले आफ्ना कामदारलाई आग्रह गरेको बताएको छ ।अघिल्लो आममाफी तथा वैधता कार्यक्रममा दर्ता भए पनि वैध बन्न छुटेकालाई पुन: वैधानिक बन्न मलेसियाले गत २० सेप्टेम्बरदेखि २० जनवरी (सोमबार) सम्म विशेष अवसर दिएको थियो ।यसअघि, धेरै पटक मलेसियाले विदेशी नागरिकलाई वैधानिकता अपनाउन अवसर दिए पनि अझै १० लाख विदेशी कामदार गैरकानुनी रपमा रहेका हुन सक्ने अनुमान गर्दै पुन: सोमबारबाट धरपकडको अभियान सुरुआत गर्न लागेको हो ।