यूएईमा अलपत्र युवतीको उद्धार

२०७० माघ २० गते, सोमबार

काठमाडौँ, २० माघ । यूएईको सारजहामा अलपत्र परेकी नेपाली युवतीलाई काभ्रे ल्याइएको छ । राहदानीमा काभ्रेको वाल्टिङ १ घर भएको देखेपछि सिन्धुपाल्चोक सेलाङ ९ का जगतबहादुर सिलवालले ती युवतीलाई नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाइदिएका हुन्।उनको राहदानीमा हरिमाया विक नाम छ । युवतीको जन्ममिति १८ अक्टोबर १९८९ उल्लेख छ। उनी बोल्न नसक्ने अवस्थामा छिन् ।
यस्तै हरिमायाको नजिकको व्यक्तिको नाम पदमबहादुर कामी लेखिएको छ । राहदानीअनुसार उनी २३ नोभेम्बर २०१३ मा विदेश गएको देखिन्छ । ती युवती गत मंगलबार सारजहामा अलपत्र अवस्थामा फेला परेको सिलवालले बताए । ‘मैले उनको पासपोर्ट हरें, पासपोर्टमा काभ्रेको वाल्टिङ ठेगाना भएको देखेपछि यी नानीको उद्धार गर्नका लागि प्रहरीको जिम्मा लगाइदिएको हुँ’ उनले भने ।
त्यहाँ रहेका नेपालीले उनको परिवारका लागि केही राहत मिलोस् भनरे केही पैसा संकलन गरेर सँगै ल्याइदिएको उनले बताए । ती युवती आफ्नो नाम मुना दर्जी र बुवाको नाम मानसिं दमाईं बताउँछिन् ।
आफ्नो र परिवारका बारेमा केही बताउन नसकेपछि उनलाई धुलिखेलस्थित सेफ हाउसमा राखिएको छ ।राहदानीमा वाल्टिङ १ हरिमाया विक नाम भएकी महिला भक्तपुरमा बस्दै आएकी छिन् । उनको माइती वाल्टिङ भए पनि केही वर्षदेखि विवाह गरी भक्तपुरमा बस्दै आएको प्रहरीले जनाएको छ। हरिमायाको पासपोर्टमा उक्त फोटो टाँस गरी ती युवतीलाई दुबई पठाइएको अनुमान प्रहरीको छ ।दुबईमा शारीरिक तथा मानसिक यातना दिएका कारण उनी बोल्न नसक्ने भएको अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु