बिम्स्टेक सम्मेलन सम्पन्न

२०७० फाल्गुन २१ गते, बुधबार


काठमाडौं । बिम्स्टेकको तेस्रो शिखर सम्मेलनले सदस्य मुलुकका राष्ट्रमा बढ्दो आतङ्कवादको खतरा, सीमापार आतङ्कवाद, मानव तथा लागुऔषधको बेचबिखनविरुद्ध संयुक्त रुपमा लड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।सम्मेलनले जारी गरेको घोषणापत्रमा आतङ्कवादले यस क्षेत्रको शान्ति, स्थिरता र समृद्धिमा खतरा निम्त्याएको भन्दै यसका विरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता जनाइएको छ ।बिम्स्टेकका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले जारी गरेको घोषणापत्रमा यस क्षेत्रका अतिकम विकसित मुलुकले भोगेको चुनौतीलाई थप पहिचान गर्दै विकास प्रक्रियामा त्यस्ता राष्ट्रलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।गहिरो आर्थिक र सामाजिक सहकार्य, सञ्जालको विस्तार, दिगो विकास र साझा प्राकृतिक स्रोतका आधारलाई मिलाउँदै जनस्तरमा सम्पर्कको माध्यमबाट एकापसमा सद्भाव, समृद्धि र कल्याणलाई अभिवृद्धि गर्न सकिन्छ भन्नेमा हामी एक मत भएका छौँ– घोषणापत्रमा भनिएको छ ।
यसैबीच , तेस्रो बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय बैठक सन् २०१४ भित्र नेपालमा गर्ने बिक्स्टेक सम्मेलनले निर्णय गरेको छ ।वस्तु व्यापारमा उत्पत्तिको नियमसम्बन्धी सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन सदस्य मुलुक सहमत भएका छन् ।विवाद समाधान कार्यविधिसम्बन्धी सम्झौतामा हस्ताक्षर र बिम्स्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतामा भन्सार सहजीकरण गर्न पारस्परिक सहयोग गर्नेसम्बन्धी सम्झौतालाई अघि बढाउन पनि सहमति जनाइएको छ ।
यस क्षेत्र चुनौतीबाट गुज्रिएको भन्दै त्यसको घेराबाट जनतालाई बाहिर ल्याउन सदस्य राष्ट्रको सामूहिक प्रयास हुनुपर्ने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा सात राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले बिम्स्टेक क्षेत्रमा भौतिक सम्पर्क बढोत्तरीमा जारी प्रयासप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।बिमस्टेक सम्मेलनमा नेपाल, बङ्गलादेश, भुटान र भारतका प्रधानमन्त्री तथा म्यान्मा र श्रीलङ्काका राष्ट्रपति सहभागी थिए । सम्मेलनले बिम्स्टेकको प्रथम महासचिवका रुपमा श्रीलङ्काका सुमिथ नकान्दला नियुक्त गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु