नेपाल पहिलो विश्वकपमा छानियो

२०७० चैत्र ३ गते, सोमबार


काठमाडौ, २चैत्र ।पहिलो पटक विश्वकप छानिएर इतिहास रचेको क्रिकेट टिमले पहिलो खेलमा जित हात पारेर समर्थकलाई खुशीको उपहार दिएको छ ।चटगाउँको जोहर अहमद चौधरी स्टेडियममा जवाफी व्याटिङमा उत्रिएको हङकङ नेपाली बलरसामू निरीह बन्यो । १७ ओभर खेलेको हङकङ ६९ रन बनाएर अल आउट भयो । नेपालको जितमा म्यान अफ दी म्याच शक्ति गौचनको महत्वपूर्ण भूमिका रह्यो । चार ओभर बल फ्यालेका उनले जम्मा ९ रन दिएर तीन विकेट लिए ।नेपालले राम्रो लक्ष्य तय गर्न कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले राम्रो साझेदारी गरे । खड्का र मल्लले सबैभन्दा बढी ८० रनको साझेदारी खेलेका थिए । ज्ञानेन्द्रको खातामा ४८ रन रह्यो । उनी चार चौका र एक छक्काको मद्दतले अर्धशतक नजिक पुगेका हुन् । कप्तान पारसले ४१ रन बनाए । ३७ बल खेलेका उनले चार चौका प्रहार गरे ।सुरुवातमै नेपाललाई राम्रो रनरेटसहित अगाडि बढाउन ओपनर सुबास खकुरेल र सागर पुनको योगदान पनि उल्लेख्य रह्यो । खकुरेलले चार चौकासहित २२ रन बनाए । सागर १३ रनमा आउट भए । आजको खेलमा नेपाल प्रारम्भिक व्याट्सम्यानहरुबाट निराश बन्नु परेन ।
कप्तान पारसले पहिलो बलमै हङकङका ओपनर इरफान अहमदलाई आउट गरेपछि दोस्रो विकेटको लागि पनि नेपालले धेरै कुर्नु परेन । दोस्रो ओभर जारी छदा सोमपाल कामीले अर्को विकेट लिए । उनले जेजे अटि्कन्सनलाई ६ रनमा समेटेका थिए । तेस्रो विकेटको लागि भने नेपालले सातौ ओभरसम्म कुर्नुपर्‍यो । १८ रनमा छदा शक्ति गौचनको बलमा जितेन्द्र मुखियाले वाकस वर्कतलाई क्याच गरे ।११ औं ओभरमा बसन्त रेग्मीले च्यापम्यानलाई बोल्ड गरे । त्यो बेलासम्म हङकङसँग ५८ रन थियो । लगत्तै निजाकट खान शून्य रनमै बसन्तको बलिङको शिकार बने । उनी पनि बोल्ड भएका थिए । २० रन बनाएका बार्बर हायत १२ औं ओभरको पहिलो बलमा शक्तिको बलमा बोल्ड भए । शक्तिले लगत्तै अइजाज खानलाई शून्य रनमा बोल्ड गरे । तनवीर अफजललाई पनि बसन्त रेग्मीले शून्य रनमै क्याच आउट गराए । १४ औ ओभरमा सोमपाल कामीले नजिब अमरलाई आउट गरे । १७ औं ओभरको अन्तिम बलमा जितेन्द्रले नदिम अहमदलाई बोल्ड गरेका थिए ।शक्तिसहित बसन्त रेग्मीले पनि तीक विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन मात्रै खर्चिएका थिए । सोमपाल कामीको खातामा २ विकेट रह्यो । पारस र जितेन्द्रले एक एक विकेट लिए ।नेपालले समूह चरणको दोस्रो खेल मंगलबार आयोजक बंगलादेशविरुद्ध खेल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]