मलेसियाका गृहमन्त्री नेपाल आउदै
काठमाडौं ,१८ चैत । मलेसियाका गृहमन्त्री डा.अहमद जाहिद हमिदी एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्वमा आज नेपाल भ्रमणमा आउदै छन् । नेपालसँगको आपसी सम्बन्ध थप सुमधुर बनाउने तथा नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्यले उनी नेपाल आउन लागेका हुन् ।
मलेसियामा नेपाली श्रमिकको धेरै माग भइरहेको सन्दर्भमा मलेसियाली गृहमन्त्रीको भ्रमण नेपालका लागि महत्वपूर्ण मानिएको छ । भ्रमणका क्रममा गृहमन्त्री हमिदीले प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
मलेसियाली गृहमन्त्रीको कार्यक्षेत्रमा पर्ने आप्रवासी श्रमिक सम्बन्धी नेपाली अधिकारीहरुसंग उनको भेटबार्ता हुने बताएको छ । मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । हाल उक्त मुलुकमा झन्डै सात लाख नेपाली कार्यरत छन् । मलेसियाले बङ्गलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि नेपाली श्रमिकको माग बढेको छ । नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।