साउदीमा नेपाली महिलालाई मृत्युदण्ड
काठमाडौ । २ वर्षे शिशुको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि एक नेपाली घरेलु कामदारलाई साउदी अरेबिया सरकारले सोमबार मृत्युदण्ड दिइएको छ । ती महिलालाई सरकारी अधिकारीहरुले टाउको काटेर मृत्युदण्ड दिइएको गृहमन्त्रालयले जनाएको छ ।
साउदी अरेबियाको गृहमन्त्रालयले मृत्युदण्ड पाउने नेपाली महिलाबारे विस्तृत विवरण सार्वजनिक नगरेपछि त्यहाँ रहेको नेपाली दुतावासले यस विषयमा गम्भीर चासो व्यक्त गरेको छ । साउदी प्रेस एजेन्सीले मृत्युदण्ड दिइएकी महिलाको नाम ‘शोबा ब्यारियर’ लेखेको छ, जसका कारण उनको नाम स्पष्ट हुन सकेको छैन । तर, उनी यसअघि नै मृत्युदण्डको सजायँ सुनाइएकी शोभा परियार हुन सक्ने अनुमान गरिएको छ ।यी घरेलु कामदार महिला साउदी शिशु ओसामा विन मइद अल एन्जीलाई चक्कुले घाँटी काटेर मारेको आरोपमा दोषी पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यी घरेलु कामदार महिलालाई अरार नगरमा मृत्युदण्ड दिइएको हो । साउदीमा इस्लामी सरिया कानुन लागू हुन्छ । यहाँ बलात्कार, हत्या, स्वधर्म त्याग, सशस्त्र डैती तथा लागूपदार्थको गैरकानुनी बेचविखनमा दोषी प्रमाणित भएमा मृत्युदण्ड हुन्छ ।
मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र जनरल कोर्टले पनि मृत्युदण्डको फैसला दिएको मन्त्रालयले जनाएको छ । मृत्युदण्डको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेको त्यहाँको मन्त्रालयलाई उधृत गर्दै एजेन्सीले जनाइएको छ ।