युरोपका प्रवासी विप्लव पक्षमा

२०७१ पुष १५ गते, मंगलवार

काठमाडौं । रोजगार तथा कामका शिलशिलामा युरोपका विभिन्न देशमा गएका माओवादी समर्थक प्रवासी नेपालीहरुले नवगठित नेकपा माओवादीलाई पूर्ण समर्थन जनाएका छन् । युरोपका १० वटा प्रवासी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सो समर्थन जनाएका हुन् । नेपाललाई स्वाधीन र सार्वभौम राष्ट्र बनाउने लक्ष्य लिएको जनयुद्ध र जनआन्दोलनका उपलब्धी खोसिएका बेला अरु माओवादीहरु संसदीय व्यवस्थातर्फ ढल्कन लागेको उनीहरुले बताएका छन् । जनयुद्धबाट मुक्तिको सपना देखेका आम जनतालाई अरु माओवादी नेताहरुले निरास पारिरहेका बेला आन्दोलनको झण्डा झुक्न नदिने निर्णयसहित अगाडि बढेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ आशाको संचार गरेको उनीहरुले बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, “निरन्तर क्रान्तिको अनिवार्य आवश्यकतालाई आत्मसात गर्दै नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गर्नका लागि क. विप्लवको नेतृत्वमा नेकपा माओवादी गठन भएको छ । यो नेपाली जनताको आशा र भरोशाको शक्ति बनेको छ । त्यसैले हामी युरोपस्थित प्रगतिशील संगठनहरु नेकपा माओवादीलाई नेपाली जनताको पक्षमा दृढ रहेर संघर्षशील रहन र क्रान्तिकारी हस्तषेपको सिद्धान्तमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने मार्गमा अविचलित रहेर अगाडि बढ्न आग्रह गर्दछौं । नेपाली मुक्तिकामी जनताको संघर्षमा हाम्रो ऐक्यवद्धता निरन्तर रहने प्रतिवद्धता पनि जाहेर गर्दछौं ।”
साथै विज्ञप्तीमा छोटो समयमै नेकपा माओवादीले देशको राजनीतिमा एउटा वैकल्पिक शक्तिका रुपमा स्थापित भएको युरोपमा रहेका सबै नेपालीहरुले अनुभूति गरेको बताइएको छ । १० वटा प्रवासी संगठनहरुले अहिले देशमा संसदवादी शक्तिहरुले फेरि पनि नेपाली जनतालाई शोसन र उत्पीडनमा राखिराख्ने गृहकार्यमा जुटेको बताएका छन् । त्यसबाट सबै सचेत हुनुपर्ने उनीहरुको भनाई छ । विज्ञप्तीमा भनिएको छ, “मुलुकमा अधिकारविहिन वर्ग र समुदायहरुलाई अधिकार सम्पन्न तुल्याउने कार्यभार सहित सम्पन्न नेपाली जनयुद्धलाई जनयुद्धका प्रमुख नेतृत्वहरु प्रचण्ड बाबुरामहरुले नै विसर्जन गराए । उनीहरुले वर्गदुश्मन सामु आत्मसमर्पण गरे । सर्वहारा वर्गप्रति गद्दारी गरे । यो विचलनको विरुद्ध क. किरणको नेतृत्वमा क्रान्तिकारीहरु फेरि जुटे, संगठित बने तर त्यसले पनि आन्दोलनको रुपधारण गर्न सकेन ।”
नेपाली जनप्रगतिशील मोर्चा, युरोपका संयोजक विष्णु भुजेल, नेपाली जनजाति सरोकार मन्च, युरोपका संयोजक रामबहादुर गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष प्रेम पाठक, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका संयोजक भक्त प्रधान, नेपाली जनप्रगतिशील मन्च, स्पेनका अध्यक्ष इश्वर शर्मा, नेपाली जनप्रगतिशील मोर्चा, इटालीका महासचिव विष्णु शर्मा, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जर्मनीका अध्यक्ष गंगालाल श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलका संयोजक इन्द्र न्यौपाने, नेपाली जनजाती सरोकार मञ्च, वेल्जियमका अध्यक्ष वदन योङ्गहाङ्ग, नेपाली जनप्रगतिशील मोर्चा, अष्ट्रियाका संयोजक बुद्धि तामाङले यो विज्ञप्ती संयुक्त रुपमा जारी गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु