१९ नेपालीविरुद्ध भारतमा ज्यान मुद्दा

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौ, २७ साउन । नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपाली भारत जान असुरक्षित भएका छन् । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सार्वसाधारणलाई भारतीय प्रहरीले मुद्दा दर्ता गरेपछि उनीहरु भारत जान असुरक्षित बनेका हुन् । सुस्तामा बस्दै आएका २८ वर्षीय प्रभू लोनियाको गत असार १४ गते भारतीय भूमिमा सुस्ताबाट करिब ५० किमी टाढा रहस्यमय तरिकाले हत्या भएको थियो । सो हत्याको आरोपमा भारतीय प्रहरीले उनीहरुमाथिसमेत मुद्दा दर्ता गरेको छ ।
मुद्दालाई अदालत नपठाएसम्म भारतमा जाँदा ती सुस्तावासीलाई समस्या हुनसक्ने भन्दै ‘सुस्ता बचाऊ’ अभियानका अध्यक्ष गोपाल गुरुङले फाइल अदालत गएपछि मात्र मुद्दा दर्ता गरिएका सुस्तावासीले आफ्नो भनाइ राख्न पाउने बताए ।
यता यसबारे नवलपरासीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीले मृतकका परिवारलाई भारतीय प्रहरीले कागजमा लेखिएको व्यहोरा नै नदेखाई जबर्जस्ती सही गर्न लगाएको मृतकका आफन्तलाई उद्धृत गर्दै सञ्चारकर्मीलाई बताए ।
यस घटनाबारे नवलपरासी प्रशासनले गृहमन्त्रालयलाई समेत जानकारी गराइसकेको छ । प्रजिअ महादेव पन्थले भने, ‘यस कार्यालयको तर्फबाट यसबारे लिखितरुपमा मन्त्रालयमा पत्राचार गरिसकिएको छ ।
घटनास्थल भारत सुस्ताबाट निकै टाढा भएकाले पनि यो घटनामा मुद्दा दर्ता भएका सुस्तावासीको कुनै दोष नभएको अनुमान गर्न सकिन्छ । यद्यपि भारतीय प्रहरीले सुस्ताका सर्वसाधारणको नाममा मुद्दा दर्ता गरी अन्य सुस्तावासीलाई समेत त्रसित बनाउन खोजिएको आँकलन गरिएको छ ।
सुस्तावासीमाथि पटक पटक भारतीय पक्षबाट हुँदै आएको आतङ्कित पार्ने प्रवृत्तिबाट सुस्तावासी निकै हैरान बनिसकेका छन् । अहिलेसम्म १४ हजार हेक्टर नेपाली भूमि भारतीय पक्षबाट अतिक्रमण हुँदासमेत राज्य भने मौन छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]