प्रधानमन्त्री प्रचण्डलाई पत्र- पुष्पकमल होइन प्रचण्ड बनेर देखाउनुस – अनिस तामाङ

२०७३ श्रावण ३० गते, आईतवार

सम्मानिय प्रधानमन्त्री ज्यु,
खाडीमा पसिना बगाउदै गरेको सहिदको भाईको तर्फबाट रातो सलाम। कामरेड सर्वप्रथम यो देशको प्रधानमन्त्री भएकोमा यो चिठ्ठि मार्फत भएपनि हार्दिक बधाई भन्न चहान्छु । केहि दिन अगाडि नै तपाईंलाई एउटा चिठ्ठि कोर्दै थिए तर किनकिन बिगतको घाउँहरुले फेरि पोल्न थाल्यो, कलमको सुइहरु घुमाउनै सकिएन अनि कलम बन्द गरेर जनयुद्धकालिन गित सुन्दै सुतियो( देख्द छन मेरा यि आखाहरु ति साथीहरुलाई , जसको रगतले रंगियो धर्ति ति महान यात्रीलाई.. ) । मैले यो भन्दा पहिले बाबुरामले पार्टी परित्याग गर्दा रुदै पत्र कोरेको थिए । त्यो पत्र गाउँमा बाबाले पढ्नु भएको रहेछ । अब वितिसकेको कुरा नकोट्याउनु ल बाबु भन्नु भएको थियो । तर पनि मैले एउटा पत्र कोर्नै पर्छ जस्तो ठानेर कोर्ने प्रयास गर्दैछु ।
कामरेड , म एक सहिद परिवार हु । मेरो घर काभ्रे जिल्ला सर्स्युखर्क गविस चुखा भन्ने ठाउमा हो । जनयुद्धको बेला मलाई सबै भन्द प्यारो लाग्ने दाई गुमाएको छु । मलाई अलि अलि याद छ । म सानै थिए , गाउँघरमा सामान्तिहरुले हल्ला फिजाउने गर्थे । कोसीपारीतिर माओवादीहरु आयो रे , अब हाम्रो गाउँमा पनि माओवादी आउछन भनेर । हामीहरु निकै डराउथ्यौ माओवादीले मार्छन / लुट्छन भनेर । शायद २०५६ – ५७ सालतिर हुनुपर्छ साउनको झरी झम झम परिरहेको थियो। डुङ्गाको छानो भएको घरभित्र चुहिएर ठाउ ठाउमा भाँडो थाप्दै थिए । अचानक घरको ढोका विस्तारे कसैले ढकढकायो । हामी एकदमै डरायौ । हामीले एकछिन ढोका खोलेनौ , तर बाहिरबाट कसैले बाबा / आमा भनेर बोलाएपछि बाबाले ढोका खोल्दिनु भयो । दुइजना मान्छेहरु थिए हातमा पेस्तोल, कम्मरमा ग्रिनेट भिरेको थिए । उहाँले भन्नुभयो म लेकाली उहाँ छिरिङ बहिनि । हामी माओवादी हौ । बाबा एक पटक हच्किनु भयो । उहाँले हामी तपाईं हाम्रो राज्यसत्ता ल्याउनको लागि हिडेको क्रान्तिकारी हौँ डराउनु पर्दैन भन्नु भयो । मेरो बाबा क्रान्तिकारी प्रति अलि सकारात्मक हुनुहुन्थ्यो । उहाँहरु रातभरि कुरा गरेर बस्नु भयो । म सानै थिए, तर म ठुलो मान्छेहरुले बोलेको कुरा कान ठाडो बनाएर सुन्ने गर्थे । आमाले बारम्बार चिमोटेर सुत् भन्नुहुन्थ्यो तर मलाई क्रान्तिकारीहरुको कुराले आमाले चिमोटेको पनि वास्त हुदैनथ्यो । त्यो रात बोल्द बोल्दै विहान भएको थियो । क्रान्तिकारीहरुको कुरा सुनेर मेरो रगत उम्लेर आउथ्यो । अहिले गएर सिंहदरबारभित्र गएर आत्मघाती गरौ जस्तो ।
आज भन्दा भोली भन्दै गाउँ माओवादीमय हुदै गयो। पछि मेरो बाबाले काठमाडौंमा बस्नु हुने दाईलाई युद्धमा पठाउने निर्णय गर्नु भएछ। एउटा छोराचाहि जनताको लागि भयो लेकाली आले भनेर भन्दै गर्दा आमा रोइरहनु भएको थियो। आमाको मनमा के बितिरहेको थियो म मनन गर्न सकिन्नथ्यो त्यतिबेला। पछि दाई काठमाडौंबाट आउनु भयो। बाबाको हरेक कुरालाई नाई भन्न नसक्ने , मेरो दाईले बाबाको त्यो प्रस्तावलाई पनि नाई भन्नु भएन। राति सबैजना काम सकेर थाकेर सुत्ने तरखरमा थिए तर मेरो दाई आफ्नो लुगाहरु प्याक गरेर जंगल छिर्न तरखरमा हुनुहुनथ्यो।
काठमाडौं बस्ने छोरा जंगलमा के खान्छ होला , के लाउछ होला भनेर आमा रुदै थिईन । बाबाले हाम्रो कमल हाम्रो मात्रै छोरा हैन सारा नेपालीहरुको छोरा हुनेछन भनेर आमालाई फकाउदै हुनुहुन्थ्यो । मैले दाई कहिले आउनु हुन्छ भनेर सोध्दा भोली पर्सि आउछु ल कान्छा भनेर गालामा म्वाइ खाएको आजै जस्तो लाग्छ । दाई म नि जान्छु भनेर दाईको हात समाएर रोएको दिनहरु चलचित्रको पर्दा भन्दा नि रंगिन लाग्छ । दाईले म मरे भने चाहि मेरो ठाउमा जानु ल कान्छा भन्नु भएको शव्दहरु आज नि मेरो मस्तिष्कमा गुन्जीरहेका छन ।
दाई हिडेको ठ्याक्कै एक वर्षपछि काभ्रेको नाराणस्थान भन्ने ठाउमा माओवादीको कार्यक्रम रहेछ । त्यहाँ बाबा र म जाँदै थियौ तल जंगलमा जनमुक्ति सेना ड्रेसमा लगाएको एउटा केटा उभिरहेको देखे । बाले त्यो केटालाई देखाउदै भन्नुभयो त्यो पुलिस हैन नि कान्छा त्यो त हाम्रो लाल सेना हो भन्दै नजिक पुग्दा त्यो केटा अरु कोही नभएर मेरो प्यारो दाई कमल हुनुहुदोरहेछ । पहिलाको मोटो ज्यान सुकेर सिकुटु भएको रहेछ । बाबाले सोध्नुभयो कस्तो छ छोरा तिमीलाई ? दाई- ठिकै छ बाबा युद्ध झन् झन् चर्किदैछ । हिजो अस्ति अलि कतिले दुश्मनको गोली लागेन । शायद आमाले सधैं भगवान पुजा गरेर होला त्यो दिन भाग्यले बाँछे । तपाईं त भगवान मान्नु हुन्न क्यारे । आमालाई सधैं भगवानको पुजा गर्नु भन्नुस ल । युद्ध मैदानमा कति खेर ढल्छ थाहा छैन बाबा । अनि मैले रोपेको गोठमाथिको अमलाको विरुवा कत्रो भयो ? यसपाली देखि फल्न थाल्यो होला है ? बाबा केहि बोल्न सक्नु भएन । एकछिन पछि त्यसो भए युद्ध छोड्न त छोरा म पार्टीमा कुरा राख्छु। दाईले भन्नुभयो -बाबा आजको दिनसम्म हजुरको सबै कुरा मान्दै आएको छु । बालकैमा गरिबिकोकारण स्कुल छोड्न लगाउनुभयो मैले स्कुलपनि छाडे । तपाईंसंगसंगै रिक्सा चलाउनु भन्नुभयो त्यो पनि माने , आजको दिनसम्म सबैको काम पुरा गर्दै आएको छु अब यो पनि पुरा गरेर छाड्ने छु । मरेछु भने भाइहरु छन । भाईहरुलाई मेरो राइफल थमाउनु होला । मैले राईफलमा तपाईंको र आमाको नाम लेखेको छ भन्नु ल बाबा भनेर दाई आखाभरि आसु पार्दै छुट्टिनु भएको थियो। त्यसको केहि महिनापछि लेकाली कमरेड सहिद हुनुभयो । त्यतिबेला नरोएको मान्छे थिएन गाउँमा । सारागाउँ शोकमा ढुबेको थियो।
रेडियो नेपालमा दिनैकै यतिजना माओवादी मर्यो भनेर माओवादीहरको नाम आउथ्यो। हामी सधैं कान थापेर सुनथ्यौ । कहिलेकाही दाईको जस्तै नाम आउथ्यो हामी झस्किनथ्यौ । पछिपछि बाबाले यो रेडियो नेपाल नसुन्नु यसमा झूठो समाचार सम्प्रेषण गर्छ भन्नु भयो। कमल दाई माओवादी भएको कुरा ठुलो दाईलाई थाहा थिएन । एक दिन ठुला दाई खुसिको खबर सुनाउन गाउँ आउनु भएको थियो । ठुलदाई खुसी हुदै भन्नुभयो बाबा तपाईंले सधैं देशको सेवा गर्नु भन्नु हुनथ्यो नि मेरो शाही सेनामा जागिर पक्क भइसक्यो । अब म यो देशको सेवा गर्छु । बाबा हेरेको हेरै हुनुभयो । ठुलो छोरा शाहीसेना अर्को छोरा जनमुक्ति सेना । बाबाले भन्नुभयो के तिमी आफ्नै भाईलाई गोली ठोक्न जान्छौ छोरा? तिम्रो भाई जनमुक्ति सेनामा छन । ठुलदाईले भन्नुभयो मेरो आफ्नै भाइलाई कसरि गोली हान्न सक्छु बाबा बरु म जागिर नै खान्न भनेर नेपाली सेनाको जागिर छोड्नु भएको थियो । यसरी नै दिनहरु बित्दै थियो कमल दाई वर्षमा एकदुइ चोटी घर आउनु हुनथ्यो । आमालाई मेरो आसा नगर्नु आमा जति खेर जुनबेला नि म सहिद हुन सक्छु भन्नु हुनथ्यो । म महसुस पनि गर्न सक्दिनँ मेरो आमाको मनमा के बित्दै थियो भन्ने कुरा । बाबालाई पनि त्यो गाउँमा माओवादी नेता भनेर चिनिन्थ्यो । सेना सिधै हाम्रो घर घेर्न आइपुगथ्यो। हामी गाँउबाट एक घन्टा टाढा भिरको छेउको गोठमा बस्ने गर्थ्यौ । बाबा त गोठमा पनि बस्नु हुन्न थियो । सधैं गुफामै सुत्नु हुनथ्यो। त्यही क्रममा ७ कक्षा पढ्दै गरेको दिदिलाई पनि सेनाले गिरफ्तार गरयो । २ महिना जेलमा राख्यो । शाही सेनाको अत्यचारको सिमा नाघेपछि दिदिले जेलबाट निस्केपछि बाध्यताले क्रान्तिको बाटो रोज्नु भयो। हामी गोठमा सुतिरहेको थियौ अचानक रेडियोमा दाई सहिद भएको नाम प्रसारण भयो । भोलीपल्ट पार्टीको साथीहरू आएर कमल सहिद भयो भन्दा आमा बेहोस भएर ढल्नु भएको थियो। बाबा हाम्रो अगाडि रुन नसकेर माथि पिपलको बोट मुनि गएर रुदै रहेछन। हामी सबै रोएर आसु सकिसकेको थियो । आमा केहि बोल्न सक्नु हुन्न थियो , बाबाले सम्झाउनु हुन्थ्यो । आमालाई हाम्रो मात्रै छोरा सहिद भएको हैन सारा दुनियाँको यस्तैकथा छन । एउटा सहिदको आमा र बुबा भएकोमा गर्ब गर्नुपर्छ । रोयो भने दुश्मनहरु झन बलियो हुन्छ भनेर आमालाई सम्झाउनु हुन्थ्यो । त्यसपछि मैले दाईको राइफल बोक्छु बाबा भन्दा बाबाले कान्छा तिमी त धेरै पढ्नु पर्छ । सन्तानमा एउटा छोरालाई भए नि पढाउनु पर्छ । तिम्रो उमेर पनि त सानै छ भन्नु भयो। पछि दाईको बदला लिन राम दाईले बन्दुक उठाउनु भयो ।
कमरेड , यस्तो दुखाहरु धेरै छन । यि दुखहरु त सारंशमा भन्दै छु । हामीले हिजो देखेका सपनाहरु ओझेल पर्दै गइरहेका छन। हामीले जनयुद्धमा सबै चिज गुमायौ । दाई गुमाए, चेलीको सपनाहरु गुमाए। तर आजको दिनसम्म पार्टीको भनेको एक टुक्रा फलाम पनि लिएको छैन । हामीले गाउँमा अझै पनि विपक्षीहरुलाइ औला उठाउने ठाँउ राखेको छैन । हिजो हामीलाई पार्टीले सिकाएको सिद्धान्तहरु अझैपनि हामीले भुलेको छैन । आजको दिनसम्म माओवादी र तपाईंको गुनगान गाउँदै आइरहेको छौ ।निरन्तरताले मात्रै क्रान्ति सफल हुन्छ भन्ने थाहा मानसिकताले आजको दिनसम्म माओवादी बाहेक अरु केहि सोचेको छैन । माओवादी र तपाईंलाई गाली गर्दा मलाई मेरो आमालाई गाली गरेको भन्दा धेरै दुख्छ । त्यही भएर माओवादीको विरुद्ध कहिकतै बोलेको पाए ठाउको ठाउ बहसमा उत्रिदै आइरहेको छु । हामी सहिद परिवार र तल्लो दर्जाको कार्यकर्ता सधैं तपाईंहरुलाई बचाउदै गर्दा तपाईंहरु आफु आफै पद र सत्ताको लागि आफुआफै टुट्ने फुट्नेगर्दा साह्रै मन दुख्छ कमरेड । हामीलाई व्यक्तिगत रुपमा केहि चाहिदैन। तपाईंको खुबिले जनतालाई जति दिन सक्नु हुन्छ दिनुहोस् । तपाईं पुष्पकमल मात्रै हुने हो भने तपाईंले एउटा भुत्ला उखेल्न नि सक्नु हुन्न । तर प्रचण्ड बन्न सके १००% ग्यारेन्टी दिन सक्छु तपाईं यो देशलाई उथलपुथल बनाउन सक्नु हुन्छ । कसैलाई पद नदिदा पार्टी छोड्छन भने छोड्न दिनुस । उनिहरु पार्टीमा रहेर पनि बदनाम मात्रै भइरहेका छन। क्रान्ति खुल्ला किताब हो जता अट्छ त्यतै जान दिनुस। आज म खाडीमा पसिना बगाउदै छु। म जस्तो लाखौ युवाहरु विदेशी भुमिमा अपमानको जिन्दगी बिताइरहेका छन । लाखौं श्रमशक्ति विदेशिएका छन । अब तिनिहरुलाई घर फर्काउने जिम्मा तपाईं कै हो कमरेड । हामी वर्षौ लगाएर अरुको भाषा सिकिसिकि अरुको देशमा त कृषि काम गर्न तयार छौ भने के युवाहरु आफ्नै देशमा आधुनिक कृषि गर्दैनन् होला ? मात्रै राजनीतिक अस्थिरताले जनता निरास छन । कामरेड, एक पटक प्रचण्ड भएर देखाउनुस । यो देशको सबै समस्य हल हुनेछ । आसा छ यो पाली धेरै चुनौती भएपनि राम्रै काम गर्नु हुन्छ भनेर ।
लेखक नेपाल जन प्रगतिशील मञ्च युएइका प्रवक्ता हुन् ।

प्रतिक्रियाहरु

[anycomment]