मलेसियाका राजदूतमाथि भ्रष्टाचारको आरोप
काठमाडौं । गैरआवासीय नेपाली संघ, मलेसियाका निवर्तमान अध्यक्ष महेन्द्रजंग शाहले मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्नेतमाथि ३६ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएका छन् । उनले गैरकानुनी रुपमा मलेसियामा रहेका नेपालीहरुलाई नेपाल फर्काउने क्रममा राजदूतले यस्तो भ्रष्टाचार गरेको बताएका हुन् । हिजो एक प्रेस विज्ञप्ति जारी गरी शाहले यसबारेमा सबै कुरा खुलाएका छन् ।
शाहमाथि पनि मलेसियामा रहँदा विभिन्न किर्ते कार्य गरेको तथा नक्कली प्रोफेशनल भिषा स्टिकर प्रयोग गरी लाखौँ ठगी गरेको आरोप लागेको छ । शाहविरुद्ध परेका ठगीको उजुरीका आधारमा मलेसियामा अवस्थित नेपाली दूतावासले मलेसिया सरकारलाई पत्र नै काटेपछि मलेसिया सरकारले शाहलाई पक्रिई गत सेप्टेम्बर १ मा नेपाल पठाएको थियो । नेपाल आउनासाथ महानगरीय अपराध महाशाखाले उनीमाथि छानबिन गरी हाल रु. ४००० धरौटीमा रिहा गरेको छ । मलेसिया सरकारले उनलाई सबै चलअचल सम्पत्ति रोक्का गरी ५ वर्ष मलेसिया प्रवेशमा रोकसमेत लगाएको छ ।
यस्ता छन् शाहमाथि लागेका आरोपहरु :
शाहले एन्.आर्.एन्. मलेसियाका अध्यक्ष रहेको भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेका भन्ने आरोप लागेको छ । शाहविरुद्ध मलेसियाका लागि नेपाली दूतावासमा इन्द्रवीर महर्जन, दुर्गाप्रसाद खरेललगायतले ठगीको उजुरी गरेका थिए । यिनै विभिन्न उजुरीका आधारमा दूतावासले शाहलाई वारेन्ट लेटर जारी गरेको थियो । तर समयमा उनी दूतावासमा उपस्थित नभई भूमिगत रहेको भनी दूतावासले मलेसिया सरकारलाई नै पत्र काटी शाहलाई कारबाही गराउन अपिल गरेको थियो । दूतावासको अपिलकै कारण मलेसिया सरकारले शाहलाई पक्राउ गरी १४ दिन अनुसन्धानका लागि हिरासतमा राखी पछि नेपाल फर्काएको विज्ञप्तिमा जनाइएको छ ।
शाहविरुद्ध ११४ जना विदेशीलाई गैरकानुनी रुपमा नक्कली भिषा दिइएको भन्नेसमेतको आरोप लागेको छ ।
केही समय अघि नेपालबाटै प्रकाशित हुने एक समाचारपत्रमा शाह अन्तर्राष्ट्रिय आपराधिक संगठन आईएस्.मा आबद्ध रहेको भनी राजदूतले बताएका भन्ने सम्मको आशयको समाचार समेत प्रकाशित भएको थियो ।
शाहको कथन :
शाहले सबै आरोपको दोष मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्नेतविरुद्ध लगाएका छन् । उनका अनुसार बस्नेतको घोटालाजन्य क्रियाकलापका विरुद्धमा शाह नेतृत्वको एन्आर्एन् मलेसिया लगायतका संगठनहरुले खबरदारी गरेपछि राजदूत बस्नेतले यस्तो प्रपञ्च रचेका हुन् । शाहका अनुसार बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई नेपाली फिर्ता गराउन ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई करिब १२५० रिंगिटको रसिद काट्ने तर २ हजारदेखि ३५ सय रिंगिटसम्म लिने गरेकोमा शाह नेतृत्वको एन्आरएन् मलेसियाले सो को विरोध गरेपछि बस्नेतले यस्तो प्रपञ्च रचेका हुन् । एन्आर्एन् मलेसियाले यसरी कामदार फिर्ता गराउन १३२० रिंगिट लाग्ने भन्दै बढी रकम लिनेविरुद्ध कारबाही गर्न दूतावासलाई आग्रह गरेको थियो । साथै, यसरी भए गरेको भ्रष्टाचारका विरुद्धमा एन्आर्एन् मलेसियाका निवर्तमान महासचिव सुनिल चालिसेले रु. ३६ करोड घोटालासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दायर गरेपछि बस्नेतले यस्तो प्रपञ्च गरी मुद्दालाई निस्तेज पार्ने गरेको आरोप पनि शाहको छ ।
राजदूतकै कारण लाखौँ नेपाली निशानामा पर्न सक्ने
अध्यक्ष शाहले राजदूतको कोडिङ गरी आफूलाई अन्तर्राष्ट्रिय आपराधिक संगठन आईएस्सँग आबद्ध रहेको भनी पत्रपत्रिकामा समाचार आउनु आफूलाई मात्र नभई संसारभर रहेका नेपालीहरुकै लागि गम्भीर रहेको बताएका छन् । कपोलकल्पित र मनगढन्ते रुपमा यस्ता कुरा गर्दा संसारभर रहेका नेपालीहरुलाई नै सुरक्षाको खतरा रहेको भन्दै शाहले यसको छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग समेत गरे ।