प्रबुद्ध समूहको बैठक सुरु हुँदै
काठमाडौ, १८ असोज । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को बैठक आजदेखि नयाँदिल्लीमा सुरु हुँदैछ । दुई देशबीच भएका सन्धि–सम्झौतालाई पुनरावलोकन गर्दै सम्बन्धलाई नयाँ आधारमा विकास गर्न गठन भएको प्रबुद्ध समूहको यो दोस्रो बैठक हो । तीन महिनाअघि काठमाडौँमा समूहको पहिलो बैठक बसेको थियो ।
टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् । भारतका तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बीसी उप्रेती र महेन्द्र पी लामा रहेका छन् ।
नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको इतिहासमा दुई देशबीच हालसम्म भएका सन्धि सम्झौताहरूको पुनरावलोकन गर्दै नयाँ सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पहिलोपटक कूटनीति तथा दुई देशको सम्बन्धमा गहिरो ज्ञान राख्ने व्यक्तिको संलग्नतामा ईपीजी गठन भएको हो ।
काठमाडौँमा भएको बैठकले भारतसँग सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनबारे औपचारिक छलफलमा प्रवेश गरेको थियो । नयाँदिल्ली बैठकमा नेपालले १९५० मा भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने तयारी गरेको परराष्ट्र निकट स्रोतले जनाएको छ ।
सन् १९५० को सन्धिबारे पटकपटक कुरा उठे पनि कुनै निष्कर्षमा पुग्ने गरेको छैन । भारतीय पक्षले सन्धि पुनरावलोकनका लागि आफू तयार रहेको भन्दै नेपालले के संशोधन चाहेको प्रस्ताव ल्याउनुपर्ने बताउँदै आएको छ । तर, नेपालले भने अहिलेसम्म प्रस्ताव राखेको छैन ।