सुमलको दुई कृति बजारमा

२०७३ कार्तिक १४ गते, आईतवार

काठमाडौँ, १४ कात्तिक । बेलायतमा बस्दै आएका श्रष्टा सुमलकुमार गुरुङले लेखेको दुई कृति विमोचन गरिएको छ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले नेपाल खोज्दैछु कविता संग्रह र फेरि हङकङ सेरोफेरो यात्रा संस्मरण पुस्तक विमोचन गरेका हुन् । साहित्यकार, कवि तथा लेखक गुरुङको यो पाँचौ र छैटौ कृति हो । यसअघि उहाँले नियात्रा, कथा र कविता संग्रह प्रकाशनमा ल्याइसकेका छन । उनले अतीतको आँखिझ्यालभित्र नियाल्दा (२०७१) नामक संस्मरण, मेजर अर्जुनको औंठी (कथा संग्रह) २०६९, युरोप यात्राका अनुभूतिहरु (२०६८) नियात्रा संग्रह प्रकाशन गरिसकेका छन छ । उनको लेखन यात्रा १९९२ देखि सुरुवात भएको हो ।
साहित्यकार गुरुङको साहित्य यात्राबारे टिप्पणी गर्दै मन्त्री गुरुङले तमूको छोराले दोस्रो भाषामा समेत साहित्य सिर्जना गर्नु नेपाली साहित्यका लागि सुखद पक्ष रहेको बताए । आफ्नो मातृभाषा नभएपनि नेपाली भाषामा साहित्य सिर्जना गर्नु त्यति सहज नभएको भन्दै समीक्षक प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइँटेल अहिले नेपाली भाषा संरक्षणका लागि गुरुङको कृतिले मद्दत गर्ने बताए ।
यात्रा संस्मरणबारे समीक्षा गर्दै प्राज्ञ भाउपन्थीले गुरुङको लेखनबाट नेपाली साहित्य विधामा महत्वपूर्ण योगदान पुगेको बताए । कार्यक्रममा अन्तरास्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले साहित्यकारको परिचय दिनेसम्मको काम राज्यबाट नभएको दुःखेसो पोखे ।
साहित्यकारको परिचयलाई स्वीकार्दै सेवा सुविधामा समेत सरकारले ध्यानदिनुपर्ने अध्यक्ष लेकालीको भनाइ थियो । लेखक गुरुङले पाठक र शुभेच्छुकहरुको प्रतिक्रियापछि साहित्य लेखन कार्यमा थप जोश आएको भन्दै आगामी दिनमा थप स्तरीय सिर्जना पाठकसामु पस्कने प्रतिवद्धता जनाए ।

प्रतिक्रियाहरु

[anycomment]