कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

२०७३ माघ १६ गते, आईतवार

काठमाडौँ, १६ माघ । माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियाको राजधानीस्थित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रबाट कोरियामा रहेका आप्रवासी नेपालीहरु उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन गर्दै सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमूख टिकाबेरुप लिम्बुले सहभागीहरुलाई विषय केन्द्रित गर्न सहजीकरणको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता गर्दै एमएनयु केन्द्रीय संयोजक मिलनकान्छा किरातीले अन्तरक्रियाको विषयलाई थप प्रकाश पारेका थिए ।
प्रायःजसो सहभागीहरुले छोटकरीमा विचार राख्दै सुझाव, सल्लाह दिएका थिए । आप्रवासी नेपालीको समस्यालाई समाधान गर्ने, भावनालाई सम्बोधन गर्ने र हक– अधिकारलाई सुरक्षित एवं सुनिश्चित गर्ने कुनै पनि प्रभावकारी संस्था हालसम्म नदेखिएकोले नेपाल सरकारले तत्काल यस विषयमा गम्भीर भएर सोच्नुपर्ने धेरै सहभागीहरुको धारणा सुनिएको थियो । नेपालमा आप्रवासी आयोग स्थापना हुनसके विदेशमा रहेका नेपालीको अनेकौं समस्यालाई सुल्झाउन सहज मात्रै नभएर युवा विदेश पलायनको चापलाई न्यनिकरण गर्दै स्वादेशमा नै उद्यमशील बन्न प्रेरित गर्न सकिने एक सहभागीले बताए । आर्थिक समृद्धि प्राप्त गर्नको लागि आधुनिक कृषि खेतीमा जोड दिनुपर्ने र उद्योग, कल–कारखाना प्रशस्त खोल्न सरकारले वातावरण तयार गरिदिनु पर्ने धारणा पनि सहभागीहरुले राखेका थिए ।
अन्तरक्रियामा धारणा राख्दै छुङ्छन नेपाली समाजका उपाध्यक्ष एवं कृषि क्षेत्रका प्रतिनिधि पदम रानाले भने, ‘राजनितिले आर्थिक विकास गर्दैन । त्यो आफै वेरोजगारी उत्पादन गर्ने कारखाना हो । विदेश आएर पनि अमूक पार्टीको झोले बन्न रुचाउनु अति नै लज्जास्पद कुरा हो । माइनस बीस डिग्री चिसो र पचास डिग्री तातोमा थ्रीडी काम गर्दा पनि गोर्खेको बुद्धि आउदैन भने अब कहिले आउने ? उनले थपे, ‘अब सबै एकजुट भएर देशको लागि सोच्ने बेला आएको छ ।’ सहभागीहरुले नेपालमा आप्रवासी आयोग, रोजगार केन्द्र, उद्योग, व्यवसाय प्रशिक्षण, प्रवद्र्धनको भरपर्दो संस्था स्थापना गर्न आवश्यक रहेको धारणा राखे । अन्तरक्रिया कार्यक्रमको समापन गर्दे संयोजक किरातीले प्राप्त सल्लाह, सुझावहरुलाई सम्बन्धित निकायमा पु¥याएर ठोस कार्यन्वायनको लागि पहलकदमी र विशेष आग्रह गर्ने बताए । – –अमर अछामी

प्रतिक्रियाहरु

[anycomment]