मोदीको शपथग्रहण हुदै

२०७६ जेष्ठ १६ गते, बिहीबार

काठमाडौं, १६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि आज शपथ लिँदैछन् । स्थानीय समयानुसार साँझ ७ बजे राष्ट्रपति भवनमा उनको शपथ ग्रहण कार्यक्रम हुनेछ । मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि विभिन्न मुलुकका सरकारप्रमुखलाई आमन्त्रण गरिएको छ । तर केही स्वदेशी अतिथि भने शपथग्रहण समारोहमा सहभागी नहुने भएका छन् । तीमध्ये एक हुन् पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जी । ममता बनर्जीलाई मोदीले ‘दिदी’ भनेर सम्बोधन गर्दछन् । लोकसभा निर्वाचनकै क्रममा मोदीले बलिउड अभिनेता अक्षयकुमारलाई दिएको एक अन्तरवार्तामा समेत वर्षमा एक/दुई पटक दिदी (ममता बनर्जी) ले आफूलाई कुर्ता, मिठाइ पठाउने गरेको बताएका थिए । ममताले मोदीको सो भनाइलाई ‘राजनीतिक लाभ लिने प्रयास’ भनेर टिप्पणी गरेकी थिइन् । राजनीतिक संस्कारका रुपमा आफूले दिएका उपहारलाई समेत मोदीले राजनीतिक लाभका लागि प्रचार गरेको भन्दै ममताले आपत्ति जनाएकी थिइन् ।
पश्चिम बंगालमा लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले यसपटक राम्रो नतिजा ल्याएको छ । त्यसअतिरिक्त ममता बनर्जीका पार्टीका दुई सांसद र केही पार्षद भारतीय जनता पार्टीमा प्रवेश गरिसकेका छन् । यसका बाबजुद ममताले मोदीको शपथग्रहण समारोहमा सहभागी हुने घोषणा गरेकी थिइन् । बुधबार साँझ ममताले अचानक आफ्नो निर्णय पुनर्विचार गर्दै शपथ ग्रहण समारोहमा नजाने निर्णय गरेकी हुन् । समाचार एजेन्सीहरुका अनुसार मोदीको शपथ ग्रहण समारोहमा पश्चिम बंगाल राज्यबाट ५४ परिवारका प्रतिनिधिलाई सहभागी गराइँदैछ । भारतीय जनता पार्टीका अनुसार राजनीतिक हिंसाका क्रममा पश्चिम बंगालमा मारिएका आफ्ना ५४ कार्यकर्ताको परिवारबाट प्रति परिवार दुई जनाका दरले प्रधानमन्त्रीको शपथग्रहण समारोहमा अतिथि बनाइएको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ ममता बनर्जीले अन्तिम समयमा आएर शपथग्रहण समारोह वहिष्कार घोषणा गर्नुको मूख्य कारण यही नै हो । ममताले भाजपाका ती ५४ कार्यकर्ताको हत्या राजनीतिक कारणबाट नभएको दावी गर्दै आएकी छन् । व्यक्तिगत दुश्मनी, पारिवारिक झगडा, अन्य विवादका कारण उनीहरुको हत्या भएको हुन सक्ने तर्क गर्दै ममताले राजनीतिक हिंसाबारे प्रदेश सरकारमा कुनै रिपोर्ट नआएको दावी गरेकी छन् । भारतीय जनता पार्टीले भने आफ्ना ती कार्यकर्ता राजनीतिक हिंसाका क्रममा मारिएका र पश्चिम बंगालको सत्तारुढ दल तृणमुल कांग्रेसका कार्यकर्ताले सत्ताको आडमा उनीहरुको हत्या गरेको आरोप लगाएको छ । मोदीको शपथग्रहण कार्यक्रममा एकातिर ती ५४ जनाको परिवारलाई ‘सम्मानस्वरुप’ अतिथि बनाउन लागेको अवस्थामा आफ्नै पार्टी कार्यकर्तालाई संदिग्ध हत्याको जिम्मेवार बनाइएको अवस्थामा सोही मञ्चमा आफू बस्न नसक्ने तर्कका साथ ममताले मोदीको शपथग्रहण कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको बताइन्छ ।
मुख्यमन्त्री बनर्जीले ट्वीट गर्दै भनेकी छन्, ‘बधाई नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीजी । मेरो योजना संवैधानिक निमन्त्रणा स्वीकार गर्ने र शपथग्रहण समारोहमा जाने नै थियो । तर अन्तिम क्षणमा म मिडियामा देखिरहेकी छु कि बंगालमा राजनीतिक हिंसामा ५४ जना मारिएको भनिएको छ । यो पूर्ण रुपमा झुठो हो ।’ उनले बंगालमा त्यसप्रकारको कुनै पनि राजनीतिक हत्या नभएको दावी गरेकी छन् । ‘त्यसैले मलाई माफ गर्नुस् नरेन्द्र मोदीजी, म शपथग्रहण समारोहमा सहभागी हुन सक्दिनँ ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]