१ लाखदेखि २ लाख ४० हजार अमेरिकीहरू मर्न सक्ने चेतावनी
काठमाडौँ, १९ चैत । कोभिड-१९ को महामारी अब अमेरिका केन्द्रित भएको छ । त्यहाँ सर्वाधिक संख्यामा संक्रमित फेला परेसँगै मृत्युको ग्राफ पनि उकालो लागिरहेको छ । मंगलबार एकै दिनमा अमेरिकामा कोरोना भाइरसका कारण मर्नेको संख्या हालसम्मकै उच्च ७४२ पुगेको छ । यससँगै त्यहाँ कुल मृतकको संख्या ३ हजार ८८३ पुगेको छ । जुन कोरोनाको उद्गमस्थल चीनको भन्दा पनि धेरै हो ।
अमेरिकामा मंगलबार हालसम्मकै सबैभन्दा बढी २४ हजार ४९२ नयाँ संक्रमण फेला परेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । यससँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८८ हजार २८० पुगिसकेको छ । विज्ञहरुले अमेरिकामा यो महामारी अझै भयावह बन्ने चेतावनी दिइरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले नै आगामी दुई हप्ता झनै पीडादायी हुने चेतावनी दिइसकेका छन् । उनले कम्तीमा १ महिना अमेरिकीहरूले सुझाइएका सबै नियमहरु पालना गर्नु आवश्यक रहेकाे बताउँदै भनेका छन्- ‘यो जीवन र मृत्युको सवाल हो ।’
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कोरोनाभाइरस कोर्सको पहिलो आधिकारिक मोडेल र सीडीसी जारी गरेको छ । जसअनुसार नयाँ तथ्यहरुबाट यो संकेत पाइएको छ कि कुनै लक्षण नभएका व्यक्तिले समेत अरूलाई भाइरस सारिरहेका छन् । मास्क लगाउने बारेको मार्गनिर्देशनको समीक्षा समेत गरिएको छ ।
अमेरिकामा कोरोना भाइरससँग संघर्ष गरिरहेका शीर्ष सरकारी वैज्ञानिकहरूले मंगलबार अनुमान गरेका छन् कि कोभिडको नतिजा अझै घातक हुनेछ । उनीहरुले यस रोगबाट अमेरिकामा १ लाखदेखि २ लाख ४० हजार अमेरिकीहरू मर्न सक्ने चेतावनी दिएका छन् । अहिले अमेरिकामा भाइरस नियन्त्रणका लागि प्रतिबन्धात्मक कार्यहरुमा कडाइ गरिन थालिएको छ । त्यहाँ सामाजिक दूरी कायम राख्ने उपायहरूका बाबजुद स्कूलहरू बन्द गरिएका छन्, ठूलो जमघटमा प्रतिबन्ध लगाइएको छ । यात्राहरू पनि सीमित गरिएकाे छ र मानिसहरूलाई उनीहरूको घरमा बस्न बाध्य तुल्याइएको छ । मुख्य सहरहरुमा लकडाउन गरिएको छ । न्यूयोर्क टाइम्सका अनुसार देशका अग्रणी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी एस फौसी र कोरोनाभाइरस प्रतिक्रियाहरुको समन्वय गर्दै आएका डा. डेबोरा एल बिर्क्सले मंगलबार ह्वाइट हाउसमा उक्त भयानक प्रक्षेपणलाई “हाम्रो वास्तविक संख्या” भनेर सम्बोधन गरे । तर उनीहरुले वाचा गरे कि त्यो प्रक्षेपित संख्यालाई अझ कम गर्न सकिन्छ, यसका लागि सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरी नियन्त्रण लिन सकिनेछ ।