भारतमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा आठ जनाको मृत्यु

२०७७ बैशाख २५ गते, बिहीबार

काठमाडौँ , २५ बैशाख । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा आठ जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरी कमिसनर आरके मीनाले जानकारी दिएकी छिन । स्थानीय समयअनुसार, बिहान साढे तीन बजे यो घटना भएको बताइएको छ । यो ग्यास प्लान्टबाट तीन देखि पाँच किलोमिटरसम्म फैलिएको अनुमान छ । यो प्लान्ट एलजी पोलिमर्स इन्डिया प्रांइभेट लिमिटेडको हो । अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले आसपासका ५ गाउँ खाली गरेको छ । उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ । धेरै मानिसले आँखा पोल्ने र सास लिन गाह्रो भइरहेको बताएका छन् । विशेषगरी वृद्धि र साना बालबालिकामा श्वासप्रश्वासको समस्या देखिएको छ । जिल्ला अधिकारी विनय चाँदका अनुसार दुर्घटनामा करिब दुई सय मानिस बिरामी परेका छन् । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन् । -बिबिसी

प्रतिक्रियाहरु

[anycomment]