जनप्रगतिशील मोर्चा साउदीद्वारा साम्राज्यवादी अतिक्रमण र फासिवादी सरकारविरुद्ध लड्न अपिल

२०७७ बैशाख २९ गते, सोमबार

काठमाडौँ , २९ बैशाख । नेपाली जनप्रगतिशील मोर्चा साउदीले नेपाली भूमिमाथि भारतीय हस्तक्षेप र उक्त हस्तक्षेपलाई स्वीकार गर्ने नेपालको सरकारका विरुद्ध सङ्घर्ष गर्न आह्वान गरेको छ । मोर्चाको केन्द्रीय समितिका तर्फबाट युवराज कार्की (शेखर) ले विज्ञप्ति जारी गरी लिपुलेकमाथि भारतीय हस्तक्षेपको भत्र्सना र नेपाल सरकारको मौन समर्थनका विरुद्ध शक्तिशाली प्रतिरोध गर्न आह्वान गरेका हुन् ।
कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल वैशाख २५ गते भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले भारत उत्तराखणड राज्यको पिथौलागढबाट नेपालको लिपुलेक हुँदै मानसरोवर जोड्ने ८० किलोमिटर सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन् । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो हस्तक्षेप हो । हाम्रो सङ्गठन भारतीय साम्राज्यवादद्वारा गरिएको अतिक्रमणको घोर विरोध र भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल–भारत सीमाङ्कन सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको सर्वविदित नै छ । सोही सन्धिसनुसार लिम्पियाधुराबाट बग्ने काली नदी नै भारत–नेपालबीचको पश्चिम सीमा रहेको भारतलगायत राष्ट्रिय–अन्तर्राष्ट्रिय जगत्ले स्वीकारेको सन्दर्भमा सन् १९६२ मा भारत–चीनबीच भएको युद्धमा नेपालको भूमि प्रवेश गरेको साम्राज्यवादी सेना आजसम्म फर्केर नजानु साम्राज्यवादको मिचाहा प्रवृत्ति हो ।’
अगाडि भनिएको छ, ‘नेपालको भूमि प्रयोग गरी सडक निर्माणकार्य अविलम्ब रोक्न भारत सरकारसमक्ष जोडदार माग गर्दछ । नेपाली भूभागमा बेरोकटोक बाटो बनाउँदा पनि चुप बस्ने सामाजिक दलाल पुँजीवादी केपी वली सरकारको भारतीय साम्राज्यवादप्रतिको दलाली, लाचारी खुल्ला रूपमा प्रकट भएको छ । भारतले बाटो बनाउन खोज्दा, नेपालको भूभाग भारतीय नक्सामा सामेल गर्दा नेलाली सिमानाहरू ठाउँठाउँमा मिचिँदा पनि संसद्वादी दलाल राज्यसत्ता मूकदर्शक देखिएकाले नेपाललाई दिन–प्रतिदिन पराधीन बनाउन लागेको प्रस्ट हुन्छ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यस्तो नपुंसक, दलाल, पुँजीवादी सत्ताको अन्त्यका लागि सङ्घर्षमा एकजुट हुँदै सम्पूर्ण राजनीतिक दल, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील जनसमुदायहरू, श्रमिक मजदुरहरू र प्रवासमा रहेका देशभक्त जनसमुदायहरूलाई संवेदनशील र गम्भीर भई यसको विरोध तथा प्रतिकारका लागि एकजुट हुन नेपाली जनप्रगतिशील मोर्चा साउदी हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]