दुबईमा अलपत्र नेपालीलाई लिन जहाज उड्यो

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज दुबई विमानस्थलमा अलपत्र नेपाललीलाई लिन त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो । उक्त दिन दुबईबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन चार अन्तर्राष्ट्रिय उडान हुँदैछन् । नेपाल एयरलाइन्सको दुबई र हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुवै जहाज राति गन्तव्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ । उक्त एयरलाइन्सको जहाज बिहान १०ः१५ बजे कामाडौँ आएर आजै दिउँसो ३ः१५ बजे फर्किने तालिका रहेको छ ।