विदेशमा रहेका ३ जना नेपालीको कोरोनाबाट मृत्यु

२०७७ भाद्र १४ गते, आईतवार


काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोनाबाट हालसम्म १६ देशमा रहेका १९५ जना नेपालीहरुको निधन भएको छ । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनासहित ३ जना नेपालीको कोरोनाबाट निधन भएको छ । स्वास्थ्य समितिका संयोजक डा। संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।
अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै नेपालमा मात्र ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो ।
शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]