भाजपाका अध्यक्षसहित १० केन्द्रीय मन्त्रीहरुलाई कोरोना संक्रमण

काठमाडौ । भारतमा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा सहित १० जना केन्द्रीय मन्त्रीहरुलाई कोरोना भाइरस संक्रमण भएको छ । तीन दिनअघि पश्चिम बंगालको भ्रमणबाट फर्किएलगत्तै अध्यक्ष नड्डालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भए लगत्तै उनी आइसोलेसनमा बसेका छन् । त्यस्तै गृहमन्त्री अमित साहलगायत १० जना मन्त्रीमा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा ग्रामीण विकास राज्यमन्त्री साध्वी निरञ्जन, रसायन मन्त्री सदानन्द गौडा, परिवहन मन्त्री नितिन गडकरी, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान र महिला एवम् बालविकास मन्त्री स्मृति इरानी रहेका छन् ।
त्यस्तै सामाजिक न्याय राज्यमन्त्री रामदास आठवाले, मन्त्री प्रल्हाद जोशी,उद्योग राज्यमन्त्री अर्जुन मेघवाललाई पनि कोरोना संक्रमण भएको हो । कोरोना संक्रमणकै कारण रेल राज्यमन्त्री सुरेश अंगडीको भने उपचारको क्रममभा मृत्यु भैसकेको छ । भारतमा हालसम्म ९८ लाख ९४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणकै कारण १ लाख ४३ हजार भन्दा धेरैको मृत्यु भएको छ । – एजेन्सी