बाइडेनद्वारा एसियनमाथि भएको रंगभेदको निन्दा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई घृणा र चेतावनीविरुद्ध बोल्न अपिल गरेका छन् । जर्जियामा एसियन–अमेरिकन नेताहरुसँग शुक्रबार भेट गरेपछि बाइडेनले अपराधका घटनाविरुद्ध बोल्न अपिल गरेका हुन् । रंगभेदका घटना देख्दा पनि चुप रहनु अपराध सरह रहेकाले यस्ता घृणा तथा चेतावनीयुक्त गतिविधिविरुद्ध आवाज उठाउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रपति बाइडेनले रंगभेद नराम्रो विष रहेको र त्यसले देशलाई लामो समयसम्म घाइते पार्ने समेत बताए । उनले कोरोना भाइरससँग सम्बन्धित घृणाजन्य अपराध सम्बन्धी विधेयक पारित गर्न संसदलाई सुझाव दिएका छन् ।
अमेरिकी संसदमा दुई एसियन–अमेरिकन सांसदले सो विधेयक दर्ता गरेका छन् । मंगलबार जर्जियाको एट्लान्टाका तीन मसाज पार्लरमा भएको आक्रमणमा ६ जना एसियन महिलासहित आठ जनाको मृत्यु भएको थियो । एसियन–अमेरिकनमाथि हिंसा तथा दुर्व्यवहारका घटना बढ्दै गएका बेला आक्रमण भएको हो । प्रहरीले सो आक्रमण रंगभेदी मनोभावका कारण निर्देशित रहेको प्रमाण नभेटिएको जनाएको छ । कोरोना भाइरसको महामारीका बेला पूर्वी एसियाली क्षेत्रका मानिसमाथि अमेरिकामा घृणाजन्य अपराध बढेको छ । – एजेन्सी