भारतमा एकैदिन ३ लाख कोरोना संक्रमित थपिए !

काठमाडौं । भातरमा मंगलबार एकैदिन २ लाख ९४ हजार ११५ जना कोरोनाबाट संक्रमित भएका छन् भने २ हजार २० जनाको निधन भएको छ । एकैदिन यतिधेरैको संख्यामा संक्रमित हुने र मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । साथै सोहि अवधिमा १ लाख ६६ हजार ५२० जना निको भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म १ करोड ५६ लाख कोरोना संक्रमित भइसकेका छन् । ती मध्ये १ करोड ३२ लाख निको भएका छन् भने हालसम्म १ लाख ८२ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । साथै हाल २१ लाख ५० हजार सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।
भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य बनेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका कूल संख्यामा झण्डै आधा महाराष्ट्रका रहेका छन् । महाराष्ट्रमा मंगलबार ६२ हजार ९७ जना संक्रमित भएका थिए ।
समाचार ऐजेन्सीका अनुसार उत्तर प्रदेशमा २९ हजार ५७४, दिल्लीमा २८ हजार ३९५, केरलामा १९ हजार ५७७, कर्णाटकमा २१ हजार ७९४, छत्तीसगढमा १५ हजार ६२५, राजस्थानमा १२ हजार २०१, मध्येप्रदेशमा १२ हजार ७२१, गुजरातमा १२ हजार २०६, तमिलनाडुमा १० हजार ९८६ र बिहारमा १० हजार ४५५ जना संक्रमित भएका छन् ।