नेपालको राजनीतिक परिघटना आन्तरिक मामिला : भारत

काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक परिघटनाबारे आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायतका विषयसँग जोडिएको प्रशनमा भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो । बुधवार नयाँदिल्लीमा भएको नियमित पत्रकार भेटघाटमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालमा विकास भइरहेको घटनाक्रमलाई भारतले नजिकबाट नियाले पनि त्यो उसको आन्तरिक मामिला भएको टिप्पणी गरेका हुन् ।
नेपाल आफ्नो समस्या समाधान गर्न सक्षम रहेको भन्दै बागचीले भने – ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’ नेपालको शान्ति, समृद्धि र स्थायित्वका लागि साथ दिन छिमेकी मित्रराष्ट्रका रुपमा भारत तयार रहेको पनि उनको भनाइ थियो ।