भारतद्वारा कच्चा तेलको भाउ घटाउन ओपेकलाई आग्रह

काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक)लाई तेलको भाउ घटाउन र उत्पादन बढाउन आग्रह गरेको छ । भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले एक भर्चुअल बैठकमा ओपेकका महासचिव मोहम्मद सानुसी बारकिन्डोसँगको कुराकानीमा तेलको मूल्यको विषयमा चिन्ता व्यक्त गरेका हुन् । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकले पेट्रोलियम पदार्थको भाउ बढाउन भन्दै उत्पादनमा कटौती गरिरहेकाले यस किसिमको कटौती चरणबद्धरुपमा हटाइनुपर्ने माग गरेको हो ।
यस बिषयमा भारतको पेट्रोलियम मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ – ‘मन्त्रीले स्मार्ट अर्थतन्त्रमा सुधारको क्रममा कच्चा तेलको मूल्यको असरको बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो र कच्चा तेलको भाउ उच्च हुँदा त्यसको असरको महँगीमा पर्ने बताउनुभएको थियो ।’
अहिले अन्तर्राष्ट्रिय बजारमा नै तेलको भाउमा उल्लेख्य वृद्धि भएको छ । सन् २०१९ को अप्रिलपछि पहिलोपटक विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल ७५ डलर पुगेको छ । त्यसैले भारतमा पनि पेट्रोल तथा डिजेलको भाउमा उल्लेख्य वृद्धि भएको छ ।
ओपेकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय पेट्रोलियम मन्त्रीले आफ्नो मुलुकको तेलको खपत धेरै हुने गरेको बताएका छन् । उनले आर्थिक र सामाजिक विकासको लागि सस्तो दरमा नियमित तेल आपूर्तिको लागि आग्रह गरेका छन् ।’
भारतले ओपेक र उसका सहयोगी मुलुकलाई तेलको उत्पादन बढाउन आग्रह गर्दै आएको छ । तर, ओपेकले भने भारतको आग्रह बेवास्ता गर्दै आएको छ । यससँगै भारतले तेल आयातको लागि नयाँ विकल्प खोजिरहेको छ । – एजेन्सी