एनआरएनएले तोकिएकै मितिमा निर्वाचन गर्ने !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय निर्वाचन समितिले तोकिएकै मितिमा निर्वाचन गर्ने घोषणा गरेको छ।नेपाल सरकारको निर्देशनलाई चुनौती दिँदै सो घोषणा गरेको हो । परराष्ट्र मन्त्रालयले प्रतिनिधि छनौटसम्बन्धी विवादमा उजुरी परेपछि एक पत्र पठाउँदै निर्वाचनसम्बन्धी कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो। तर, सरकारको निर्देशनको एकहप्ता पूरा नहुँदै एनआरएनएको निर्वाचनसमितिले एक विज्ञप्ति जारी गर्दै निर्वाचन तोकिएको समयमै हुने जनाएर सरकारसँग पौठेजोरी खेल्न खोजेको छ।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै समितिले परराष्ट्र मन्त्रालयबाट संघको अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचन संबन्धमा पठाएको पत्रको जवाफ संघको नेतृत्वले दिनासाथै निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गर्ने जनाएको हो। समितिले आगामी अक्टोबर २० तारिखमा चुनाव गर्ने तयारी भै रहेको पनि जनाएको छ। संघद्वारा हालै प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धाँधली गरिएको लिखित उजुरी परेपछि मन्त्रालयले एक छानबिन समिति गठन गरी संघको संस्थापन पक्ष र उजुरकर्ता दुवै पक्षसँग सोधपुछ गरिरहेको छ।
मन्त्रालयले सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। सो समितिले छानविन सम्पन्न नहुन्जेलसम्मलाई निर्वाचनको काम रोग्न निर्देशन पनि जारी गरेको अवस्थामा छानविनको प्रक्रिया प्रारम्भमात्र भएको बेला एनआरएनए निर्वाचन समितिले काम अघि बढाउनुले सरकार र एनआरएनएबीच सिधा टकराव उत्पन्न हुने देखिएको छ। मन्त्रालयको छानबिनको रिपोर्ट आउनुभन्दा पहिले र आइतबार संघका अध्यक्ष पन्तसंग मन्त्रालयले थप स्पष्टीकरण माग्ने तय गरिएको पूर्व सन्ध्यामा समितिले सूचना प्रकाशन गरी चुनावको मिति नै तोक्ने कामले समितिको नियतबारे शंका उब्जाएको छ।
यसअघि मतदाता नामावली उपलब्ध नगराएको भन्दै निर्वाचन समितिले संघका महासचिव हेम राज शर्मा र अन्य पदाधिकारीहरुलाई मौखिक तथा लिखित रुपमै ताकेता गरेको थियो। सबै एनसीसीहरूबाट १५ अगष्ट भित्रै नामावली माग गरेता पनि संघको केन्द्रीय सचिवालयले अहिलेसम्म मतदाता नामावली निर्वाचन समितिलाई बुझाएको छैन। तर समितिले मतदाता नामावली पठाउन भैरहेको ढिलाइका सम्बन्धमा भने विज्ञप्तिमा केही उल्लेख गरेको छैन। न त मतदाता सूचीमै व्यापक हेरफेर गरिएको भन्ने उजुरीबारे केही बोलेको छ।
बरु निर्वाचन समितिले “निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको र हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको“ दावी गरेको छ। त्यस्तै संघको सदस्यता सूचना प्रणाली (एमआइएस सिस्टम) को विश्वसनीयताबारे नै गम्भीर प्रश्नहरु उठिरहेको बेला निर्वाचन समितिले “आइटी विज्ञहरु सहितको उपसमिति बनाएर आवश्यक सरसल्लाह लिँदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको“ दावी गरेको छ। जापान, चिली, बेल्जियम, जर्मनीलगायतका मुलुकमा अनलाइन माध्यमद्वारा हालै गराइएको एनसीसी चुनावमा संघका महासचिव हेमराज शर्मा र सचिव गौरीराज जोशीको नियन्त्रण र निर्देशनमा रहेको संघको केन्द्रीय एमआइएस प्रणालीको व्यापक दुरुपयोग गरिएको उजुरी परराष्ट्र मन्त्रालयमा परेको छ। एउटा स्वतन्त्र छानबिन समितिले जापानको चुनावमा ग्रुप इमेल प्रयोग गरी झन्डै ३,००० फर्जी मत खसालिएको रिपोर्ट सार्वजनिक गरिसकेको छ। उक्त धांधलीविरुद्ध नेपाल प्रहरीको साइबर क्राइम ब्युरोले अनुसन्धान गरिरहेको छ। तर विवादास्पद एमआइएस प्रणालीको बचाउ गर्दै निर्वाचन समितिले मतदाताहरुका सेल्फी फोटो तथा वैध भिसा जनाउने कागजात माग गर्नुले संवेदनशील व्यक्तिगत सूचनाहरु दुरुपयोग हुन सक्ने आइटी विज्ञहरुले आशंका व्यक्त गरेका छन्।
“संस्थापन पक्षले संस्थागत रुपमा चुनावमा धाँधली गर्न कुनै कसर बाँकी नराखेको तर यो संस्थागत बदनियतको विरोधमा आवाज उठाउँदा निर्वाचन समितिले उल्टो उनीहरुको बचाउ गर्ने गरी चुनावको मिति सार्वजनिक गर्नु र सचिवालयले अहिलेसम्म गरेका विवादास्पद तथा गैरकानूनी कामको ढाकछोप गर्न खोज्नु दुर्भाग्यपूर्ण छ, “ संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले भने। उनले समितिले आफ्नो विज्ञप्ति सच्याई परराष्ट्र मन्त्रालयको छानबिन समितिले रिपोर्ट नबुझाउँदासम्म कुनै पनि विवादास्पद सूचना ननिकाल्न आग्रह पनि गरे।