ओम्रिकन भेरियन्ट भारत भित्रियो !

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ घातक भेरियन्ट ओमिक्रोन भित्रिएपछि मध्य प्रदेश राज्य सरकारले सतर्कताका लागि अलर्ट जारी गरेको छ । उक्त भाइरस फैलन नदिन त्यहाँको सरकारले विद्यालयहरुमा ५० प्रतिशत उपस्थिति मात्र खोल्न निर्देशन गरेको छ ।मुख्यमन्त्री शिवराज सिंह चौहानले बालबालिकालाई पढ्ने विकल्प दिन विद्यालयले अनलाइन कक्षा सञ्चालनलाई अनिवार्य गर्न भनेका छन् । यससँगै बालबालिकाहरु विद्यालयमा आउन अभिभावकको सहमति अनिवार्य गरिएको छ । नयाँ भेरियन्ट ओमिक्रोनबारे छलफल गर्न बसेको उच्चस्तरीय बैठकपछि मुख्यमन्त्री शिवराज सिंह चौहानले भने, “हामीले भोलि सोमबारदेखि विद्यालयहरू खुल्ने निर्णय गरेका छौं तर बालबालिकाको उपस्थिति ५० प्रतिशत मात्र कायम राखिनेछ । अर्थात् हप्ताको ६ दिनमध्ये ३ दिन मात्रै बालबालिका विद्यालय जान पाउनेछन् । ५० प्रतिशत बालबालिका ३ दिन र अन्य ५० प्रतिशत ३ दिन गरी पालैपालो विद्यालय जान पाउनेछन् । विद्यालयहरूले पनि विकल्पको रूपमा अनलाइन कक्षाहरूलाई जारी राख्नुपर्नेछ ।
यससँगै मुख्यमन्त्री चौहानले नयाँ भेरियन्ट ओमिक्रोन आएपछि सरकारले पछिल्लो एक महिनामा बाहिरबाट आफ्नो राज्यमा आएका व्यक्तिको छानबिन गर्न पनि भनेका छन् । उनले पछिल्लो एक महिनामा अन्य देशबाट अन्तर्राष्ट्रिय उडानमार्फत मध्यप्रदेश आएकालाई भारत सरकारले तोकेको नियमका आधारमा अनुसन्धान गरिने बताएका हुन् । यदि तिनीहरूमा कुनै लक्षणहरू देखिएमा तिनीहरूलाई क्वारेन्टाइनमा राखिनेछ ।