सी जिन्पिङलाई तेस्रोपटक पार्टी नेतृत्व दिने तयारी

२०७९ आश्विन २८ गते, शुक्रबार


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता (महासचिव) एवं राष्ट्रपति सी जिन्पिङलाई पार्टीको आगामी पाँच वर्षे नेतृत्व दिने तयारी रहेको बताइएको छ । यसरी उनलाई लगातार तेस्रोपटक पनि पार्टीको शीर्ष नेताको पाँच वर्षे कार्यकाल दिन लागिएको हो । सन् १९७० को दशकका नेता माओत्सेदोङपछि सी जिन्पिङलाई नै सम्भवतः सबैभन्दा शक्तिशाली चिनियाँ नेता मानिन्छ । सन् २०१८ मा दुईपटक मात्र पदमा रहन पाइने त्यसअघिको नियम खारेज गरिएको थियो । त्यस्तो निर्णयले चीनमाथिको जिन्पिङको पकडलाई थप बलियो बनाइदिने बताइएको छ । हाल जिन्पिङ ६९ वर्षका भए । आगामी कार्यकाल पनि उनैलाई दिने हो भने उनी आजन्म सत्तामा रहिरहन सक्ने सम्भावना छ ।
यही १६ अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन कंग्रेस बेइजिङमा सुरु हुँदैछ । यो उक्त पार्टीको इतिहासमा नै सबैभन्दा महत्त्वपूर्ण बैठक हुने बताइएको छ । पार्टी महासचिवका रूपमा उनी हाल चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख हुन् । यसैगरी उनी राष्ट्रपतिका रूपमा चीनको राष्ट्र प्रमुख हुन् भने चीनको केन्द्रीय सेना आयोगको अध्यक्षका हैसियतमा उनले देशको सशस्त्र सैन्यको सर्वोच्च नेताका रूपमा पनि कमाण्ड गर्छन् । यसरी उनी चीनका सर्वशक्तिशाली व्यक्ति हुन् ।

५ वर्षपछि हुन लागेकाे पार्टीकाे कङ्ग्रेसमा सीले पार्टीको महासचिव पद र केन्द्रीय सेना आयोगको अध्यक्षकाे पदलाई कायमै राख्ने सम्भावना छ भने सन् २०२३ मा हुने न्याशनल पिपल्स कङ्ग्रेसका बेला देशको राष्ट्रपतिको पदलाई पनि कायमै राख्ने सम्भावना छ ।

प्रतिक्रियाहरु

[anycomment]